मानव आवाज

२०८३ जेष्ठ ३१ गते
00: 00: 00
२०८३ जेष्ठ ३१ गते

क्षत्री समाज नेपाल, पोखरा-८ को अध्यक्षमा अधिकारी

पोखरा । क्षत्री समाज नेपाल, पोखरा महानगरपालिका-८ समितिको २८औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले आगामी चारवर्षे कार्यकालका लागि वीरबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

२०८३ जेठ ३० गते सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा पवित्रा केसी, सचिवमा प्रेमबहादुर जीसी र कोषाध्यक्षमा सृजना थापा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा गीता केसी, कल्याणी रायमाझी, प्रेमबहादुर भण्डारी, मैया केसी, सम्पन्न खड्का, ज्योति थापा, कमला खत्री र तीर्थकुमारी क्षत्री चयन हुनुभएको छ ।

अधिवेशनकै अवसरमा कुमारी थापाको अध्यक्षतामा क्षत्री महिला समिति पनि गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा राधिका थापा, सचिवमा कुलमाया क्षत्री र कोषाध्यक्षमा विमला अधिकारी चयन हुनुभएको छ भने अन्य सदस्यसहित कार्यसमिति विस्तार गरिएको छ ।

साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य विन्दुकुमार थापाले क्षत्री समुदायबिचको एकता अपरिहार्य रहेको बताउँदै यसले राष्ट्रहित र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो ।

कार्यक्रममा क्षत्री समाजका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले समाजको उद्देश्य तथा भावी कार्यदिशाबारे प्रकाश पार्दै सङ्गठनलाई स्थानीय तहदेखि केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्दै रचनात्मक गतिविधिहरू सञ्चालन गरिएको जानकारी दिनुभयो ।

संस्थापक सल्लाहकार संयोजक सोभियतबहादुर अधिकारीले क्षत्री समुदायको पहिचान, राष्ट्र र राष्ट्रियताको हितका लागि समाज सधैं एकजुट र सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी क्षत्री महिला समाजकी अध्यक्ष उर्मिला खड्का, मिलन थापा तथा सल्लाहकार प्रेमबहादुर जीसीले समाजको पहिचान र गरिमालाई थप सुदृढ बनाउन सबै तहका नागरिक सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अधिवेशनमा सचिव पवित्रा केसीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभाले दुवै प्रतिवेदन तथा भावी कार्ययोजनालाई सर्वसम्मत रूपमा पारित गरेको छ ।

कार्यक्रममा समाजको विकास र उत्थानमा योगदान पुर्‍याएका तथा ८० वर्ष उमेर पूरा गरेका १४ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो ।

सो अवसरमा क्षत्री समाज जिल्ला समिति कास्कीका अध्यक्ष दिलबहादुर अधिकारी, पोखरा महानगर समितिका अध्यक्ष कृष्णबहादुर थापा, उपाध्यक्ष रेनु थापा, निर्वाचन संयोजक गणेशबहादुर अधिकारी तथा सदस्य मदन केसीलगायतले समाजका गतिविधि र भावी योजनाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News