पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा हतियार प्रदर्शन गर्नेलाई कडा कारबाही गर्ने २०८३ असार ३१ गते जारी प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रङ्गत बरालले विभिन्न धार्मिक एवम् सांस्कृतिक चाडपर्वका नाममा र्याली, जुलुस वा प्रदर्शन गर्दा सार्वजनिक स्थलमा हतियार प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाउने कार्य भइरहेको गुनासो प्राप्त भएको भन्दै कार्यालयले गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतका निकायहरूमा यस्ता गुनासोहरू आएको जनाइएको सप्रजिअ बरालले जानकारी दिनु भयो ।
बरालद्वारा जारी विज्ञप्तिमा सरकारी कर्मचारीले कर्तव्य पालना गर्ने अवस्थाबाहेक अन्य अवस्थामा अनुमति बिना हतियार बोक्न वा एक ठाउँबाट अर्को ठाउँमा लैजान नपाइने स्पष्ट पारिएको छ ।
चाडपर्व वा संस्कृतिको नाममा सार्वजनिक स्थलमा हातहतियार प्रदर्शन गर्ने, मुख छोपेर त्रास फैलाउने वा हुलहुज्जत गर्ने जस्ता गैरकानुनी क्रियाकलाप गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई ‘हातहतियार ऐन, २०१९ (संशोधन सहित)’, ‘हातहतियार खरखजना नियमावली, २०२८ (संशोधन सहित)’ र अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
