मानव आवाज

२०८३ असार २० गते
00: 00: 00
२०८३ असार २० गते

पोखराका ११ होटल तथा खाद्य पसलमाथि कारबाही

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका ११ ओटा होटल, रेस्टुरेन्ट, क्यान्टिन तथा खाद्य पसललाई उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको आरोपमा कारबाही गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले नियम उल्लङ्घन गर्ने व्यवसायीहरूलाई जनही ५० हजार रुपियाँका दरले जरिबाना गर्नुका साथै म्याद नाघेका तथा अखाद्य खाद्य सामग्री नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले २०८३ असार १९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, पोखरा महानगरपालिका, जनप्रतिनिधि, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधिहरू सम्मिलित टोलीले २०८३ असार १५ देखि असार १९ गतेसम्म पोखरा महानगरभित्रका होटल, रेस्टुरेन्ट, क्यान्टिन र किराना पसलहरूमा आकस्मिक अनुगमन गरेको थियो ।

स्थानीय उपभोक्ता, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा खाद्य गुणस्तर र सरसफाइबारे गुनासो बढेपछि अनुगमनलाई तीव्रता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

विशेषगरी अस्पताल तथा विद्यालयका क्यान्टिन, मुख्य बजार क्षेत्रका होटल, रेस्टुरेन्ट र खाद्य पसलहरूलाई लक्षित गरी अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएको, उत्पादन मिति, ब्याच नम्बर र उपभोग्य मिति उल्लेख नभएका खाद्यवस्तु बिक्री गरिएको, सरसफाइको अभाव रहेको, खरिद–बिक्री बिल उपलब्ध गराउन नसकिएको तथा व्यवसाय दर्ता वा नवीकरण नगरी सञ्चालन गरिएको जस्ता गम्भीर कमजोरी फेला परेका प्रशासनले जनाएको छ ।

नियमविपरीत सञ्चालन तथा म्याद नाघेका र अखाद्य वस्तु बिक्री गरेको पाइएपछि श्रीकृष्णा माडवारी रेस्टुरेन्ट, सुनील क्यान्टिन, न्यूट्री किचन प्रालि, सर्वगुण फुड्स एण्ड किचन, गुड डे हस्पिटालिटी प्रालि र जेनिसा केमिकल्ससहित ११ ओटा व्यवसायलाई जरिबाना गरिएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा लेबलविहीन खाद्य सामग्री, बेकरीका परिकार, चिकेन प्याटिज, रङ मिसाइएको पकौडा, मसला, चिउरा, कुरकुरे, अमिलो माडालगायतका अखाद्य सामग्री नष्ट गरिएको पनि बरालले बताउनुभयो ।

प्रशासनले व्यवसायीहरूलाई भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउन, उपभोक्ताको स्वास्थ्यमा कुनै किसिमको खेलवाड नगर्न तथा खाद्य स्वच्छता र गुणस्तर कायम राख्न कडा निर्देशन दिएको छ ।

साथै सबैले देख्ने गरी मूल्यसूची राख्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न, नियमित सरसफाइ कायम गर्न, म्याद नाघेका सामग्री व्यवस्थित रूपमा नष्ट गर्न र खरिद–बिक्री बिल अनिवार्य रूपमा राख्न सचेत गराइएको छ ।

प्रशासनले उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न यस्ता बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तर र थप प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ ।

Author

Share the News

Recent News

Related News