मानव आवाज

२०८३ जेष्ठ २१ गते
00: 00: 00
२०८३ जेष्ठ २१ गते

रक्तदानमार्फत समानताको सन्देश

पोखरा । जातीय विभेद अन्त्य, सामाजिक सद्भाव र मानवीय सेवाको सन्देशसहित पोखरामा खुला रक्तदान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

२१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा “समतामूलक सभ्य समाज निर्माण गरौँ” भन्ने नारासहित मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा तथा मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

पोखरा–२६ स्थित बहुउद्देश्यीय सामाजिक भवन, सक्नेरीमा सम्पन्न कार्यक्रममा “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा १५ युनिट रगत सङ्कलन भएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौलाले २०६३ जेठ २१ गते नेपाललाई जातीय छुवाछुत तथा विभेदमुक्त राष्ट्र घोषणा गरिएको स्मरण गर्दै सोही ऐतिहासिक निर्णयको सम्मानस्वरूप हरेक वर्ष जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै आएको बताउनुभयो ।

उहाँले सामाजिक सद्भाव, समानता र मानव अधिकारको संरक्षणमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने उल्लेख गर्दै सामाजिक रूपान्तरण र मानवीय सेवामा आधारित अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

राज्यले छुवाछुतमुक्त घोषणा गरिसकेपछि व्यवहारिक रूपमा त्यसको कार्यान्वयन र सामाजिक चेतनामा अझ जोड दिनुपर्ने धारणा पनि प्रमुख गर्तौलाले राख्नुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक गणेश भण्डारीले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्व आवश्यक रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीकी सदस्य बबिता सुवेदीले पोखरामा दैनिक करिब १ सय युनिट रगतको माग हुने गरेको भए पनि औसतमा ५० देखि ६० युनिट मात्र सङ्कलन हुने अवस्था रहेकाले नियमित रक्तदान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले विभेदमुक्त समाज निर्माण, सामाजिक न्याय तथा मानवअधिकारको सम्मानमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

मानवअधिकारका लागि दलित महिला सशक्तीकरण नेपालकी अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पोखराका विभिन्न सङ्घसंस्थाले पनि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसर पारेर विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

Author

Share the News

Related News