पोखरा । गण्डकी प्रदेशबाट आगामी ६ वर्षे कार्यकालका लागि राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तनहुँका प्रा. डा. जगत तिमिल्सिना र नेकपा (एमाले) का तर्फबाट गोरखाकी सम्झना देवकोटा विजयी हुनुभएको छ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेश, पोखराको परिसरमा २०८२ माघ ११ गते सम्पन्न निर्वाचनबाट उहाँहरू विजयी हुनुभएको जिल्ला न्यायाधीश एवम् निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिनु भयो ।
अन्य समूहअन्तर्गत कांग्रेस उम्मेदवार तिमिल्सिनाले नेकपा उम्मेदवार कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गर्नु भयो ।
तिमिल्सिनाले कुल ५ हजार ३३ मतभार प्राप्त गर्दा लामाले ९ सय ४१ मतभार पाउनुभयो भने राष्ट्रिय जनमोर्चाका शङ्करप्रसाद बरालले ७६ मतभार प्राप्त गर्नु भयो ।
तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) प्राप्त गर्नुभएको हो ।
महिला समूहअन्तर्गत नेकपा (एमाले) की उम्मेदवार देवकोटाले ५ हजार १४ मतभारसहित विजय हासिल गर्नु भयो ।
उहाँकी निकटतम प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार प्राप्त गर्नुभयो भने जनमोर्चाकी लक्ष्मी वास्कोटाले ७६ मतभार मात्रै प्राप्त गर्नु भयो ।
देवकोटाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३० मत (२ हजार ४ सय ७० मतभार) प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा अन्य समूहअन्तर्गत २ जना प्रदेशसभा सदस्य र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिला समूहमा २ जना प्रदेशसभा सदस्य र २ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको जनाइएको छ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेका थिए र उनीहरूको मतभार फरक–फरक निर्धारण गरिएको थियो ।
ढकालका अनुसार गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य मध्ये ३७ पुरुष र २० महिला गरी ५७ मत खसेको छ ।
त्यसैगरी १७० स्थानीय तहका प्रमुख तथा उपप्रमुखमध्ये १ सय २ पुरुष र ६४ महिला गरी १ सय ६६ मत खसेको छ ।
कुल २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको जानकारी दिनु भयो । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको थियो ।
उहाँका अनुसार प्रदेशसभा सदस्य दीपक गुरुङको पद खारेजी र स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेपछि दुई पद रिक्त रहेका छन् ।
साथै राप्रपाका दुई प्रदेशसभा सदस्य, ढोरपाटन नगरपालिकाका मेयर, वालिङ नगरपालिकाकी उपमेयर तथा मनाङको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मतदान प्रक्रियामा सहभागी नभएको जानकारी दिनु भयो ।
निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो ।
मतदानका लागि दुई मतदान केन्द्र तोकिएका थिए, जसमध्ये एक केन्द्रमा प्रदेशसभा सदस्य र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेबीच एक–एक सिटमा साझा उम्मेदवार बनाउने सहमति भएको थियो ।
यस निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनबाट दुई जना, नेकपाबाट दुई जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना गरी कुल ६ जनाको उम्मेदवारी परेको थियो ।
आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रियसभामा दुई पद रिक्त भइसकेका छन् । खुला समूहबाट नारायणकाजी श्रेष्ठ र महिला समूहबाट भगवती न्यौपाने ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुनु अगावै राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनिसक्नु भएको छ ।