पोखरा । ‘कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा: संरक्षण, प्रवर्धन र उपयोगमा युवा सहभागिता’ भन्ने नाराका साथ पोखरा महानगरपालिका स्तरीय कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८२ पोखरा महानगरपालिका वडा नं. ३१ स्थित सुन्दरीडाँडामा २०८२ माघ ७ गते सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गत कृषि विकास शाखाको आयोजना तथा लि–बर्ड, पोखरा महानगरपालिका वडा नं. ३१, वडा स्तरीय कृषि सञ्जाल पोखरा–३१ र भौतिक स्रोत संरक्षण अभियानको साझेदारीमा चौथो राष्ट्रिय कृषि जैविक विविधता सप्ताहको अवसरमा मेला आयोजना गरिएको हो ।
मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोधबहादुर कार्कीले रैथाने बालीको संरक्षण र प्रवर्धनमार्फत कृषि जैविक विविधता जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता मेलाले कृषि, पर्यटन र बजार व्यवस्थापनलाई जोड्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले मेलाले कृषकलाई उत्पादनमा थप प्रेरणा दिने बताउनु भयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाले कृषि जैविक विविधताको प्रचार–प्रसार, संरक्षण र उपयोगमार्फत स्थानीय उत्पादन प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनु भयो ।
उहाँका अनुसार स्थानीय जात, प्रविधि र सिपहरू हराउँदै गएकाले तिनको महत्व जोगाउन यस्तो कार्यक्रम आवश्यक छ ।
मेलामा स्थानीयले उत्पादन गरेका रैथाने बाली र जैविक विविधताको अवस्थाबारे अध्ययन समेत गरिएको थियो ।
प्रदर्शनीमा सहभागी स्मार्ट बहुउद्देश्यीय कृषि फार्मकी सञ्चालक मैना थापाले मेलाले आफ्ना उत्पादनको बजारिकरणमा सहयोग पुगेको बताउनु भयो ।
उहाँले डेढ सय मुरी अनदी धान उत्पादन गरेको जानकारी दिँदै रैथाने बालीको बजारमा राम्रो माग रहेको बताउनु भयो ।
साथै आफ्नै बारीमा उत्पादन भएको झण्डै ५ सय कोसा फल्ने केरा, घरीसहित अन्य कृषि उपज पनि मेलामा प्रदर्शन गरिएको थियो ।
मेलाको अवसरमा आयोजित बहस कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मी, जैविक स्रोत संरक्षण अभियानका अध्यक्ष लेखनाथ ढकाल, लि–बर्ड पोखराका बेनीबहादुर बस्नेत, पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जैविक विविधताको महत्व, कृषि उत्पादन र बजारिकरणका विषयमा धारणा राख्नु भयो । बहस कार्यक्रमको सहजीकरण पत्रकार डा. रामचन्द्र बरालले गर्नुभएको थियो ।
मेलामा स्थानीय कृषि उपज, स्थानीय जातका माछा, पशुपन्छी, जडिबुटी बाली, कृषि जैविक विविधतासँग सम्बन्धित सामग्री, स्थानीय परिकार तथा सामग्रीको खरिद–बिक्री गरिएको थियो ।
साथै कृषि जैविक विविधता व्यवस्थापनसम्बन्धी कृषि गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
२३ ओटा वडास्तरीय कृषि सञ्जालको सहभागितामा विभिन्न बालीहरू प्रदर्शन गरिएको थियो । ११ टिम सहभागी कृषि गीत प्रतियोगितामा कृषि सञ्जाल ३१ पहिलो, ३० दोस्रो, २९ तेस्रो र २५ सान्तवना भएका थिए ।
त्यसैगरी कृषि जैविक विविधता प्रदर्शनीतर्फ वडा कृषि सञ्जाल ३१ पहिलो, ८ दोस्रो, २८ तेस्रो र २३ सान्तवना भएका थिए ।
विजेता टिमहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने स्थानीय परिकार निर्माण गर्ने टिमलाई पनि सम्मान गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष ढकनाथ कँडेलको अध्यक्षतामा सम्पन्न मेलामा कृषि व्यवसाय प्रवर्धन केन्द्र तथा तालिम केन्द्र, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, बागवानी अनुसन्धान केन्द्र, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, लेखनाथ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी संघ लेखनाथ, स्थानीय टोल विकास संस्था, कृषि सञ्जालका सदस्य, कृषक, उपभोक्ता तथा सरोकारवाला निकायको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको समेत सहभागिता रहेको थियो ।