मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सञ्चारकर्मीहरूका लागि आयकर तथा भ्याटसम्बन्धी तालिम सम्पन्न

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजना, नेपाल पत्रकार महासङ्घ कास्कीको समन्वय तथा जिआईजेडको प्राविधिक सहयोगमा सञ्चारकर्मीहरूका लागि आयकर तथा भ्याटसम्बन्धी एकदिने तालिम २०८२ माघ ७ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीले आर्थिक पत्रकारिता चुनौतीपूर्ण तर अत्यन्तै आवश्यक विषय भएको बताउनु भयो ।

सूचनाको युगमा सूचनामात्र होइन, ज्ञानसहितको सही सूचना प्रवाह गर्नु महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले कर राज्यको मुख्य आम्दानीको स्रोत भएकाले यससम्बन्धी तथ्यपरक र जिम्मेवार समाचार प्रवाह गर्न यस्ता तालिम उपयोगी हुने धारणा राख्नु भयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पहिलो चरणमा सञ्चारकर्मीहरूलाई लक्षित गरी करसम्बन्धी तालिम सुरु गरिएको जानकारी दिनु भयो ।

आगामी दिनमा सङ्घका सदस्य व्यवसायीहरूका लागि पनि यस्ता तालिम सञ्चालन गरिने बताउँदै उहाँले भ्याट र करका नीति–नियमबारे स्पष्ट नहुँदा व्यवसायीहरू पटक–पटक प्रशासनिक झमेलामा पर्ने गरेको उल्लेख गर्नु भयो ।

सङ्घले चालु वर्षमा १४ भन्दा बढी तालिम तथा सेमिनार सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनु भयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले प्राविधिक विषयमा पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्दै पत्रकारहरूलाई आर्थिक समाचार लेखनमा थप व्यवसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

सङ्घकी महासचिव शोभा गौतमले कर राज्यको मेरुदण्ड भएको उल्लेख गर्दै सबै नागरिक तथा व्यवसायीले यसलाई आत्मसात् गर्नुपर्ने बताउनु भयो ।

कर भुक्तानी एकपटक भइसकेपछि फिर्ता नहुने भएकाले करसम्बन्धी ज्ञान र सचेतना अत्यन्त आवश्यक रहेको उहाँको भनाइ थियो । तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा पोखरामा क्रियाशील विभिन्न सञ्चार माध्यममा आवद्ध ६० जना सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको पोखरा उद्योग वाणिज्य सङ्घका सूचना अधिकारी बासु मिश्रले जानकारी दिनुभयो ।

Author

Related News