मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

रेडक्रस उपशाखा पोखरा-१७ मा लक्ष्मी अधिकारीको नेतृत्व

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१७ को २०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन २०८२ पुस ३ गते पोखरामा सम्पन्न भएको छ ।

अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि लक्ष्मी अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवगठित कार्यसमितिको उपसभापतिमा विना लोहनी, सचिवमा चूडामणि बराल, कोषाध्यक्षमा शिवराम भण्डारी, उपसचिवमा दीपेन्द्र बराल र उपकोषाध्यक्षमा द्रोणराज महत चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा शर्मिला आचार्य, सविता भण्डारी सुवेदी, रीतादेवी सुवेदी, शिवराज न्यौपाने र बिन्दु कार्की निर्विरोध चयन हुनु भएको निर्वाचन अधिकृत मोहनसिंह खड्काले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले उपशाखा पोखरा-१७ स्रोत र साधनको दृष्टिले देशभर रहेका करिब १ हजार ६ सय उपशाखामध्ये तेस्रो अब्बल उपशाखा रहेको बताउनु भयो ।

उहाँले रेडक्रस सोसाइटी कास्की शाखा ७७ जिल्ला शाखामध्ये धेरै पटक उत्कृष्ट शाखाका रूपमा पुरस्कृत भएको जानकारी दिनु भयो ।

उहाँले रेडक्रस केन्द्रीय समितिको विधान अधिवेशनले सङ्घीय संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई कार्यकारी बनाउने प्रस्ताव अघि सारेको उल्लेख गर्दै आगामी दिनमा पालिका तहसम्म सङ्गठनात्मक संरचना विस्तार हुने बताउनु भयो ।

कार्यक्रममा गुप्तेश्वर महादेव वेद विज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्यले गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउन समुदायमा आधारित अस्पताल निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।

साधारणसभामा सचिव चूडामणि बरालले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवराम भण्डारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का सदस्य विक्रम गुरुङ, निवर्तमान सभापति झपिन्द्रराज रेग्मी, पूर्वसभापति तीर्थराज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उपशाखा पोखरा-१७ का सभापति हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपसभापति लक्ष्मी अधिकारीले राख्नु भएको थियो भने रेडक्रसका सात सिद्धान्त विना लोहनीले वाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव चूडामणि बरालले गर्नु भएको थियो ।

Author

Related News