पोखरा । नेपाल रेडक्रस सोसाइटी उप–शाखा पोखरा महानगरपालिका–५, मालेपाटनको २६ औँ वार्षिक साधारण सभा २०८२ माघ ३ गते पोखरामा सम्पन्न भएको छ ।
२०५० सालमा मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वेच्छिक सेवा, एकता र सार्वभौमिकता जस्ता सात सिद्धान्तलाई आत्मसात गर्दै स्थापना भएको उक्त उप–शाखाको साधारण सभामा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा सदस्य हरिमाया विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले मानवीय सेवामूलक कार्यमा संलग्न सामाजिक तथा संस्थागत क्षेत्रमा लामो अनुभव भएका बौद्धिक व्यक्तिहरूले रेडक्रसका मूल्य–मान्यतालाई कर्तव्यबोधका साथ व्यवहारमा उतार्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले आगामी दिनमा प्रतिभा पहिचान, शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान दिने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै विद्यार्थीहरूमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र समग्र शैक्षिक तथा खेलकुद विकासका लागि सकारात्मक ऊर्जा सिर्जना गर्ने कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
उहाँले संस्थामा आबद्ध सदस्यहरूले आफ्नो जिम्मेवारीको आत्मसमीक्षा गर्ने समय आएको उल्लेख गर्दै रेडक्रस जोगाउने जिम्मेवारी कार्यसमितिको मात्र नभई सम्पूर्ण सदस्यको साझा दायित्व भएको बताउनु भयो । साथै सचेतनामूलक कार्यक्रमहरूमा वडा कार्यालय सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
साधारण सभामा उप–शाखाका सभापति केशवप्रसाद कोइरालाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा २०८२/०८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष गोविन्दबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत प्रतिवेदनहरू माथि छलफलपछि सभाबाट पारित गरिएको जानकारी सचिव प्रदीप सुबेदीले दिनु भयो ।

२०८२ पुस मसान्तसम्म उप–शाखामा २ जना यशस्कर सदस्य, १४ जना विशिष्ट सदस्य र ३ सय ८८ जना आजीवन सदस्य गरी कुल ४ सय ४ जना सदस्य आबद्ध रहेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी उप–सभापति रमा कोइराला, वडा सदस्यहरू कल्पना भुवाजी क्षेत्री, गोविन्दप्रसाद पराजुली र मणीराम बराल, सूर्यचन्द्र विकास समाज पोखराका उपाध्यक्ष हेमराज भण्डारी, समाजसेवी सन्तोष थापा लगायतले रेडक्रसकर्मीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।
साधारण सभाको अवसरमा कास्की शाखाकी उप–सभापति रमा कोइराला, उप–शाखा–५ का पूर्व उप–सभापति धनपति बराल तथा युवा निर्माण व्यवसायी सफल दवाडीलाई सम्मान गरिएको थियो। साथै नव आजीवन सदस्यहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी उप–शाखा पोखरा महानगरपालिका–५ का सभापति केशवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–सभापति नेत्रमाया अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सदस्य माधव पौडेलले रेडक्रसका सात सिद्धान्त वाचन गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन सचिव प्रदीप सुबेदीले गर्नु भएको थियो।
साधारण सभामा स्थानीय समुदायका नागरिक, बाराही तथा धर्मस्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक, सामाजिक अभियन्ता, रेडक्रसकर्मी, आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।