पोखरा । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गत शहरी स्वास्थ्य प्रवर्धन केन्द्र पोखरा-१७, कास्कीबाट स्वास्थ्य बीमा सेवा औपचारिक रूपमा सुरु गरिएको छ ।
पोखरा महानगरपालिका वडा कार्यालय-१७ को समन्वयमा २०८२ माघ २ गते आयोजित कार्यक्रमका बीच उक्त सेवा प्रारम्भ गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले नागरिकको स्वास्थ्य अधिकारलाई उच्च प्राथमिकतामा राख्दै समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गरिरहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय वडावडामा विज्ञ चिकित्सकसहितको प्राविधिक टोलीमार्फत स्वास्थ्य परीक्षण सेवा सञ्चालन भइरहेको जानकारी दिनु भयो ।
महानगर प्रमुख आचार्यका अनुसार शहरी स्वास्थ्य केन्द्रलाई शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रूपमा स्तरोन्नति गरिएको हो ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गर्ने उद्देश्यले केन्द्रको स्तरोन्नति गरिएको बताउँदै उहाँले नगरवासीलाई आफ्नै पायक पर्ने स्थानमा विशेषज्ञ सेवासहित गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन महानगर प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले वडावासीको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सक सेवा, प्रयोगशाला (ल्याब) सुविधा तथा स्वास्थ्य बीमा रिफर सेवा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत सुरु गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका जिवलाल खरेल, पोखरा महानगरपालिका-१५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ, पूर्व वडा अध्यक्ष तीर्थराज अधिकारी, महानगरपालिकाका कानुनी सल्लाहकार सुकदेव गौतम, गण्डकी मेडिकल कलेजका निर्देशक डा. टुमाया घले, महानगर स्वास्थ्य समिति सदस्य डम्मेरूप्रसाद पनेरू तथा वडा सदस्यहरू तारा परियार, विष्णुमाया थापा, शिवराम भण्डारी र विक्रम गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
वक्ताहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई नारामा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै नागरिक स्वयम् पनि जिम्मेवार र सशक्त हुनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा १३ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष राधिकाकुमारी शाही योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन शहरी स्वास्थ्य प्रवर्धन केन्द्र-१७ की प्रमुख हेलन पन्तले गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव तथा कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, आमा समूह, टोल विकास समिति, युवा क्लब, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।