पोखरा । शान्ति, शिक्षा, बालअधिकार प्रवर्धन, महिला सशक्तिकरण, सामाजिक परिवर्तन, अर्गानिक कृषि, वातावरण संरक्षण तथा स्थानीय दिगो विकासको क्षेत्रमा क्रियाशील मुनाफारहित सामाजिक संस्था चिल्ड्रेन नेपाल, पोखराको आयोजनामा एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विपन्न परिस्थितिमा रहेका बालबालिका तथा तिनका परिवारको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै २०८२ पुस २९ गते पोखरामा आयोजित उक्त शिविरमा २ सय ५० जनाभन्दा बढी बालबालिका र महिलाहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् ।
शिविर मणिपाल शिक्षण अस्पताल र नेपाल अर्बुद रोग निवारण संस्था (कास्की शाखा)को प्राविधिक सहयोगमा सम्पन्न भएको हो भने रोटरी क्लब अफ पोखरा भ्याली तथा नेपाल स्वयम्सेवी रक्तदाता समाजले सहकार्य गरेका थिए ।

कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले स्वागत मन्तव्य राख्दै संस्थाको गतिविधि र स्वास्थ्य शिविरको उद्देश्यबारे प्रकाश पार्नु भयो ।
उहाँका अनुसार शिविरमा विशेषगरी बालबालिकाको स्वास्थ्य परीक्षण र महिला तथा बालिकाको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राखिएको थियो । आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको जानकारी उहाँले दिनुभयो ।
शर्माले संस्थाले बालअधिकार, शिक्षा र संरक्षणसँगै बालबालिकाको परिवारको समग्र स्वास्थ्यप्रति पनि निरन्तर ध्यान दिँदै आएको उल्लेख गर्नु भयो ।
शिविरमा मणिपाल शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरू डा. शरद पराजुली, डा. मनिष चौलागाई, डा. समिक्षा पाण्डे, डा. आयुष्मा बराल, डा. राजकुमार शाह, डा. अपेक्षा भट्टराई र डा. सौरभ कार्की सहित १५ जनाको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो ।
चिकित्सक टोलीलाई सहयोग पुर्याउन स्टाफ नर्सहरू प्रिती गुरुङ र निसा गुरुङ, फार्मेसीतर्फबाट आकाश बि.क., मार्केटिङ सहायक युमिता घले, केयर गिभरहरू पल्लवी दराई र तिलमाया पहाडी तथा हाउसकिपिङ र अन्य सहयोगी कर्मचारीहरू खटिनु भएको थियो ।
मणिपाल शिक्षण अस्पतालका चिफ लाइजन अफिसर तथा समाजसेवी कृष्णमोहन श्रेष्ठले समुदायस्तरमा पुगेर सेवा दिन पाउँदा अस्पताल खुसी भएको प्रतिक्रिया दिनु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा भ्यालीका संस्थापक अध्यक्ष जन पुकार मुनाकर्मी, इलेक्टेड प्रेसिडेन्ट नबिन बराल, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय कोषाध्यक्ष दिनेश शङ्कर पालिखे तथा कास्की सभापति प्रेमबहादुर भुजेलले शुभकामना मन्तव्य राख्दै क्यान्सरको पूर्व–पहिचानमा यस्ता शिविरहरू कोशेढुङ्गा साबित हुने उल्लेख गर्नु भयो ।
उहाँहरूले चिल्ड्रेन नेपालको सामाजिक पहलको उच्च प्रशंसा गर्दै भविष्यमा पनि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
महँगो र आधुनिक स्वास्थ्य परीक्षण निःशुल्क रूपमा उपलब्ध भएपछि लाभग्राही महिलाहरू निकै उत्साहित देखिएका थिए ।
शिविर सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै कार्यकारी निर्देशक शर्माले विशेषगरी मणिपाल शिक्षण अस्पतालका चिकित्सक टोली, नर्सिङ स्टाफ, फार्मेसी, प्राविधिक सहयोगी र चिल्ड्रेन नेपालको सम्पूर्ण टिमको योगदानको प्रशंसा गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष एब चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेलले शिविर सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राविधिक सहयोग प्रदान गर्ने संस्थाहरू, चिकित्सकहरू तथा अन्य स्वास्थ्य प्राविधिक टोलीप्रति विशेष आभार व्यक्त गर्नु भयो ।
उहाँले चिल्ड्रेन नेपालको तर्फबाट मणिपाल शिक्षण अस्पताल, नेपाल अर्बुद रोग निवारण संस्था (कास्की) लगायत सहयोगी संस्थाहरू तथा शिविरमा सेवा प्रदान गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र वितरण गर्नु भयो ।
अध्यक्ष पौडेलले सीमित स्रोतसाधनका बाबजुद पनि सेवाभाव र मानवताका लागि गरिएको यस किसिमको सहकार्यले समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रमको सञ्चालन चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत रमेश सुवेदीले गर्नुभएको थियो ।