मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

पोखराका नौ होटल तथा रेस्टुरेन्टलाई लोगो तथा प्रमाणपत्र प्रदान

पोखरा । “खाद्य पदार्थमा स्वच्छताः विज्ञानको प्रतिबद्धता” भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा होटल तथा रेस्टुरेन्टहरूको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्ने कार्यक्रम २०८२ पुस २८ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता डा. जानुका पण्डितले मूल्याङ्कन तथा स्तरीकरणमा परेका पोखराका नौ ओटा होटल तथा रेस्टुरेन्टलाई लोगो तथा प्रमाण–पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल र होटल एसोसिएसन अफ नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले खाद्य स्वच्छता, उपभोक्ता हित र सेवा गुणस्तर सुधारको आवश्यकताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठका अनुसार मूल्याङ्कनका आधारमा फ्लिप नेपाल रिसोर्ट प्रा.लि., होटल फिस्टेल लज, साराङ्कोट माउन्टेन रिसोर्ट एण्ड स्पा प्रा.लि., होटल बाराही प्रा.लि., होटल पौवा र ड्याडीज चिप्लेढुंगा ‘अतिउत्तम’, मारवाडी सेवा भोजनालय ‘उत्तम’, सेभेन स्टार रेस्टुरेन्ट एण्ड बार ‘सन्तोषजनक’ तथा होटल देउराली मारवाडी प्रा.लि. ‘सामान्य’ स्तरमा वर्गीकरण गरिएको हो ।

यस कार्यक्रमले होटल तथा रेस्टुरेन्टहरूलाई खाद्य स्वच्छता र गुणस्तरप्रति थप जिम्मेवार बनाउँदै उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Author

Related News