पोखरा । नेपाल–भारत मैत्री सङ्घ कास्की पोखराको वार्षिक साधारण सभा तथा अधिवेशन २०८२ पुस २६ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भारतीय पेन्सन क्याम्प, रामबजारका प्रमुख कर्णेल प्रशान्त सिंह बगेलले नेपाल–भारतबिचको सम्बन्ध केवल राजनीतिक मात्र नभई जनस्तरमा गहिरो रूपमा गाँसिएको उल्लेख गर्नु भयो ।
उहाँले भन्नु भयो-‘नेपाल–भारतबिचको मित्रता सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्तै बलियो छ । यस्तो सम्बन्धलाई जीवन्त राख्न सामाजिक, खेलकुद र शैक्षिक क्षेत्रमा सहकार्य अपरिहार्य छ ।’ सङ्घद्वारा सञ्चालन गरिने यस्ता गतिविधिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भयो ।
कार्यक्रममा एसबिआइ बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख तेजकुमार थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवगठित कार्य समितिको अध्यक्षमा किरणलाल श्रेष्ठ चयन हुनुभएको छ। उपाध्यक्षमा मदन शर्मा, सचिवमा मिनु श्रेष्ठ कुँवर, कोषाध्यक्षमा उदिपकुमार श्रेष्ठ तथा सह–सचिवमा गणेशकुमार श्रेष्ठ चयन हुनुभएको छ।
यसैगरी, समिति सदस्यमा देवेन सेन प्रजु चयन हुनुभएको छ भने भारत पेन्सन क्याम्पका प्रतिनिधि पनि समितिमा रहने व्यवस्था गरिएको छ ।
कार्यक्रम सङ्घका अध्यक्ष गोपाल घ्वजुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष किरणलाल श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव मदन शर्माले गर्नुभएको थियो । नेपाल–भारत मैत्री सङ्घले दुई देशबिचको जनस्तरीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो ।