पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका, कास्कीको व्यवस्थापनमा माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकमा २०८२ साल पुस २४ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, विकास आयोजना कार्यान्वयनमा सहजीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण, विपद् व्यवस्थापन तथा जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रवाहसम्बन्धी विषयमा नागरिकका गुनासो, सुझाव र जिज्ञासा सुन्ने उद्देश्यले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५ अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले आमनागरिकहरूले दैनिक जीवनयापनमा भोग्दै आएका समस्या, गुनासो तथा सुझाव सङ्कलन गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू (जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण, राष्ट्रिय अनुसन्धान), माछापुच्छ्रे गाउँपालिका, जिल्ला समन्वय समिति कास्की, मालपोत कार्यालय कास्की, नापी कार्यालय कास्की, आन्तरिक राजश्व कार्यालय पोखरा, पूर्वाधार विकास कार्यालय कास्की, नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र, नेपाल खानेपानी संस्थान पोखरा शाखा लगायत विभिन्न विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू (वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य), सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी नागरिकहरूले उठाएका जिज्ञासा, गुनासो र सुझावहरूमाथि सम्बन्धित विषयगत कार्यालयका प्रतिनिधिहरूले जवाफ प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय सर्वसाधारणहरूले सार्वजनिक जग्गा संरक्षण, सडक तथा बाटोको अवस्था, विद्युत् सेवा, सुरक्षा व्यवस्था लगायतका विषयमा आफ्ना धारणा तथा गुनासोहरू राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव, कर्मचारी, नेपाल पत्रकार महासङ्घका पदाधिकारी, स्थानीय आमा समूह, टोल विकास समिति, युवा क्लब, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो ।