पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखरामा २०८२ पुस २३ गते उम्मेदवारी दर्ता भएको हो ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन भएको छ । गठबन्धनबाट कांग्रेस र एमालेका एक–एक जना उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबाट दुई–दुई जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेसबाट तनहुँका प्रा.डा. जगत तिमिल्सिना र एमालेबाट गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाइएको छ । दुवै दलको बलियो मतभारका कारण गण्डकी प्रदेशमा गठबन्धनले दुवै सिट जित्ने देखिएको छ ।
प्रा.डा. तिमिल्सिना नेपाल प्राध्यापक सङ्घको केन्द्रीय अध्यक्ष भइसक्नु भएको व्यक्ति हुनुहुन्छ । एमाले उम्मेदवार सम्झना देवकोटा यसअघि पटकपटक निर्वाचनमा पराजित हुनुभएकी नेतृ हुनुहुन्छ ।
२०८० सालको राष्ट्रियसभा निर्वाचनमा पनि उहाँ उम्मेदवार हुनुहुन्थ्यो, तर कांग्रेस–माओवादी गठबन्धनका कारण उहाँ पराजित हुनु भएको थियो ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट खुलातर्फ मनाङका कपिल लामा र महिलातर्फ कास्कीकी गोमा घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाबाट खुलातर्फ कास्कीका शङ्कर बराल र महिलातर्फ बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेदवारी दिनु भएको छ ।
२०८२ फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रियसभामा दुई पद रिक्त हुँदैछन् । खुलातर्फ नारायणकाजी श्रेष्ठ र महिलातर्फ भगवती न्यौपानेले ६ वर्षे कार्यकाल पूरा गरी बिदा पाउँदै हुनुहुन्छ ।
आगामी निर्वाचनमा पनि सोही क्लस्टरबाट सांसद निर्वाचित हुने व्यवस्था छ । गण्डकी प्रदेशमा ५९ जना प्रदेशसभा सदस्य र १ सय ७० स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता छन् ।
प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।
प्रदेशसभामा कांग्रेसका २७ सांसद छन्, जसको कुल मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहमा कांग्रेसबाट निर्वाचित ६६ जना प्रमुख–उपप्रमुखको मतभार १ हजार २ सय ५२ छ ।
एमालेका २२ प्रदेशसभा सदस्यको मतभार १ हजार १ सय ६६ र ७० जना स्थानीय तहका जनप्रतिनिधिको मतभार १ हजार ३ सय ३० रहेको छ ।
कांग्रेस र एमालेको कुल मतभार ५ हजार १ सय ८१ पुगेको छ, जुन दुईतिहाइभन्दा बढी हो । गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीका सात प्रदेशसभा सदस्य र ३० स्थानीय तहका जनप्रतिनिधि छन्, जसको कुल मतभार ९ सय ४१ मात्रै छ ।
राष्ट्रिय जनमोर्चासँग ७६ मतभार रहेको छ । स्थानीय तहमा जनमोर्चाले ४ ओटा पद जितेको थियो ।
राप्रपासँग १ सय ६ मतभार छ, जसअन्तर्गत प्रदेशसभामा उसका दुई सांसद छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एक प्रदेशसभा सदस्य रहेको र उक्त दलको मतभार ५३ रहेको छ ।