मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

माछापुच्छ्रे-८ का ८० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ अन्तर्गतका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालको आयोजनामा २०८२ पुस २२ गते आयोजित कार्यक्रममा ‘घरमै अध्ययन कक्ष’का लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममार्फत विद्यार्थीलाई किताब राख्ने र्‍याक, पढाइ टेबल तथा बालमैत्री पुस्तकहरू प्रदान गरिएको छ ।

बालबालिकाको घरमै अध्ययन गर्ने वातावरण सिर्जना गर्दै गुणस्तरीय शिक्षामा योगदान पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष रामबहादुर गुरुङले शिक्षा क्षेत्रको सुधारका लागि यस्ता सहयोगी कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

उहाँले प्राप्त सामग्रीले बालबालिकाको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकार यस सहयोगप्रति कृतज्ञ रहेको उल्लेख गर्नु भयो ।

साथै, उहाँले अभिभावकहरूलाई घरमै अध्ययनका लागि अनुकूल वातावरण र समय व्यवस्थापन गर्न आग्रह गर्नु भयो ।

वडा सदस्य चोकप्रसाद दाहालले उपलब्ध सामग्रीको सही र उद्देश्यमूलक प्रयोगमा जोड दिँदै शिक्षकहरूले यसको नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रममा गुड नेवर्स इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत भीम तामाङले संस्थाले शिक्षा, स्वास्थ्य, बाल संरक्षण र जीविकोपार्जनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको जानकारी दिनु भयो ।

उहाँले आगामी दिनमा पनि समुदायको आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नौलो घुम्ती नेपालका सामाजिक परिचालक बलराम पौडेलले यस सहयोगले बालबालिकाको घरमै अध्ययन गर्ने वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको बताउनु भयो ।

Author

Related News