पोखरा । “मानवअधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समृद्ध नेपाल” भन्ने मूल नाराका साथ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १७ औँ मानवअधिकार महाभेलाको अवसरमा मङ्सिर २५ गते पोखरामा सम्पन्न भयो ।
कार्यक्रमको संयोजन मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले अधिकारसँगै कर्तव्य पूरा गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै, अधिकारकर्मीको भूमिका समाजमा गुणस्तरीय सेवा प्रवाह र व्यवहारमैत्री नेतृत्व निर्माणमा महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले मानवअधिकार र सुशासनसम्बन्धी छलफल तथा सचेतनामूलक कार्यक्रम ग्रामीण तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा अधिवक्ता जुनाकुमारी गुरुङले कानुनको शासन र सुशासनका विषयमा, कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवालले लोकतान्त्रिक सिद्धान्त र मानवअधिकारबारे, जेनजीका प्रतिनिधि स्मारक भण्डारी र सजिस बास्तोलाले अन्तरपुस्ता न्यायका विषयमा सहजीकरण गर्नु भयो ।

एकल महिला समूह कास्कीकी अध्यक्ष जुना केसीले मानवअधिकारको मूल मन्त्र स्वतन्त्रता, सम्मान र समानता भएको जनाउँदै, दिगो विकास र शान्तिका लागि महिला सशक्तीकरण अनिवार्य रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य गोपाल खड्का, कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, इन्सेक पोखरा प्रदेश संयोजक गणेश भण्डारी, सङ्कल्प गण्डकीकी पूर्वअध्यक्ष दुर्गा न्यौपाने, अधिकारकर्मी ईश्वरी बिक, फेडो गण्डकीकी अध्यक्ष सुमित्रा गायकसहितका सहभागीले महिला अधिकार, कर्तव्य र सशक्तीकरणमा आआफ्ना विचार व्यक्त गर्नु भयो ।
कार्यक्रम मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशकी अध्यक्ष प्रमिला तझ्याको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उपाध्यक्ष अमृता सिग्देलले स्वागत मन्तव्य राख्नु भयो भने कार्यक्रम सञ्चालन प्रादेशिक अधिकृत सवनम शर्माले गर्नु भयो ।
यसैअवसरमा मंसिर २४ र २५ गते “पीडित तथा सिमान्तकृत महिलाहरूको अवस्था, चुनौती र समसामयिक मुद्दाहरू” विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको र सो कार्यशालाबाट चार बुँदे घोषणापत्र जारी भएको समूहकी जिल्ला कोषाध्यक्ष मनमाया नेपालीले जानकारी दिनु भयो ।
