पोखरा । “मानव अधिकारः हाम्रो दैनिक आवश्यकता” भन्ने नारासहित १७ औं मानवअधिकार महाभेला–२०८२ तथा ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस–२०२५ को अवसरमा भएको खुला रक्तदान कार्यक्रममार्फत २६ युनिट रगत सङ्कलन गरिएको छ ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, सिर्जनाचोक पोखराको भवनमा २०८२ मङ्सिर २२ गते सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सामाजिक सङ्घसंस्थाहरूले आफ्नो स्थापनाको उद्देश्यलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले संविधानले प्रदान गरेका अधिकार र उपलब्ध स्रोत–साधनको सही उपयोग गर्दै सुशासन, समन्वय र प्रभावकारी सेवा प्रवाहमार्फत लोकतन्त्र सुदृढ हुने बताउनु भयो ।
उहाँका अनुसार गैरसरकारी संस्थाहरू सरकारका विपक्षी नभई नीति कार्यान्वयनका साझेदार हुन् ।
नागरिक समाजमाथि हुने अविश्वास र निराधार आरोप लोकतान्त्रिक मूल्य र सिद्धान्तमाथिको आघात भएको उहाँको भनाइ थियो ।
अभिव्यक्ति स्वतन्त्रता, सङ्गठन स्वतन्त्रता, नागरिक सहभागिता र उत्तरदायित्व सबैले पालना गर्नुपर्ने उहाँले स्मरण गराउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणकुमार पौडेल, राष्ट्रिय मानवअधिकार आयोग पोखराकी प्रमुख नितु गर्तौला, गैसस महासङ्घ नेपालका केन्द्रीय सदस्य गोपाल खड्का, नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी, शाखाका पूर्व सभापति डण्डराज शर्मा पौडेललगायतले रक्तदानको महत्त्व र मानवअधिकारप्रति नागरिक समाजको जिम्मेवारीबारे मन्तव्य दिनु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको रक्तदानमा आठ जना महिला र १८ जना पुरुष गरी २६ जनाले रक्तदान गरेको प्रादेशिक रक्त सञ्चार केन्द्रका इञ्चार्ज महेन्द्र केसीले जानकारी दिनु भयो ।
कार्यक्रम मानवअधिकार महाभेला–२०८२ गण्डकी संयोजक प्रमिला तझ्याको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मानवअधिकार एलायन्स गण्डकी प्रदेश समिति अध्यक्ष डा. बुद्धिबहादुर थापाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा सञ्चारकर्मी गरी ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।