मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

स्थानीय तहका ७२ जना कर्मचारीसेवा प्रवेश तालिमबाट दिक्षित

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नवनियुक्त भई कार्यरत कर्मचारीहरूका लागि आयोजना गरिएको पाँच कार्य दिने सेवा प्रवेश तालिम २०८२ मङ्सिर १४ गतेदेखि १९ गतेसम्म पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले समापन कार्यक्रममा बोल्दै प्रदेश निजामती सेवाको प्रभावकारिता कर्मचारीहरूको दक्षता, पारदर्शिता र सेवा प्रवाहको गुणस्तरतामा निर्भर रहने उल्लेख गर्नु भयो ।

स्थानीय तहबाट नागरिकले उच्च अपेक्षा राखेकाले यस्तो तालिम सेवा सुधारका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीका अनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरूको दैनिक कार्यसम्पादन सहज बनाउन व्यवहारिक विषयवस्तुमा केन्द्रित कक्षा सञ्चालन गरिएको हो ।

प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले तालिममा स्थानीय तहको काम, कर्तव्य र अधिकार, खरिद प्रक्रिया, बजेट निर्माण, विकास योजना, भवन निर्माण मापदण्ड, अनुगमन तथा मूल्याङ्कन, जिन्सी तथा अभिलेख व्यवस्थापनलगायत विषयमा सहजीकरण गरिएको जानकारी दिनु भयो ।

तालिम संयोजक तथा प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले प्रशासनिक कामसँगै प्राविधिक ज्ञान पनि आवश्यक भएकाले अभ्यासमूलक तथा मिश्रित विषयवस्तु सहित प्रशिक्षण प्रदान गरिएको बताउनु भयो ।

समापन कार्यक्रमका वक्ता राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख भाष्करराज पन्त, सहभागी प्रतिक्षा डुम्रे पराजुली र कुबेरजङ्ग मल्लले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव सुनाउनु भयो ।

यसपटकको तालिममा प्रशासन सेवा तर्फका सहायकस्तर चौथो र पाँचौँ तहका कुल ७२ जना कर्मचारी दिक्षित भएका छन् ।

Author

Related News