पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा तथा गैरसरकारी संस्था महासङ्घ कास्कीको समन्वयमा २०८२ मङ्सिर १० गते जिल्लामा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सामाजिक सङ्घसंस्थाले कार्यक्रम अघि बढाउँदा दीगो विकासका राष्ट्रिय लक्ष्य पूरा गर्न योगदान पुर्याउने खालका नागरिकमैत्री तथा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले सुशासन र पारदर्शितालाई प्राथमिकता दिएर काम गर्न पनि संस्थाहरूलाई आग्रह गर्नु भयो ।
गैरसरकारी संस्था महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले आगामी दिनमा जिल्ला समन्वय समिति तथा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
समीक्षा कार्यक्रममा २३ संस्थाले आआफ्ना प्रस्तुति राखेर छलफलमा भाग लिएका थिए । सहभागीहरूले प्रविधिमैत्री सेवा प्रवाहको युगमा समाज कल्याण परिषद, आन्तरिक राजस्व कार्यालय लगायत नियमनकारी निकायमा अझै पनि हाडकपी पेश गर्नुपर्ने व्यवस्था अन्त्य गरी पूर्ण डिजिटल प्रणालीलाई अवलम्बन गर्नुपर्ने सुझाव दिए ।
साथै, स्थानीय तहसँग समन्वय कमजोर भएको तथा करिब ५० प्रतिशत संस्थामा कार्यक्रम खर्चभन्दा प्रशासनिक खर्च धेरै हुने समस्यासमेत उठाइएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सरिता मालले स्वागत मन्तव्य राख्नुभएको थियो भने समन्वय अधिकारी नवराज बरालले कार्यक्रमका उद्देश्यहरूबारे प्रकाश पार्नुभएको थियो । सूचना अधिकारी लक्षु शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
समारोहमा २५ संस्था, ५ स्थानीय तह, जिल्ला समन्वय समितिका पदाधिकारी तथा प्रदेश–जिल्ला स्तरीय गैरसरकारी संस्थाका प्रमुख/प्रतिनिधीसहित ६७ जनाको सक्रिय सहभागिता थियो ।