मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

कर्मचारीलाई कार्यालय सञ्चालन तथा  व्यवस्थापनसम्बन्धी तालिम सुरू

पोखरा । “व्यवहारमा परिवर्तन कार्यसम्पादनमा सुधार” नारा सहित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजना सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत नायब सुब्बा  तथा सहायक स्तर पाँचौँ  तहका कर्मचारीहरूका लागि  कार्यालय सञ्चालन तथा  व्यवस्थापन विषयक ३० कार्य दिने सेवाकालीन तालिम २०८२ कात्तिक ३० गतेदेखि पोखरामा शुरू भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश लोक सेवा आयोग, पोखराकी सदस्य कल्पना लम्सालले वास्तविक क्षमता विकासमा कर्मचारीहरू लाग्न आग्रह गर्नु भयो ।

सदस्य लम्सालले विषय परिस्थितिमा कर्मचारीहरूको क्षमता विकास क्रियाकलापको निरन्तरता  भएकोमा प्रतिष्ठानको कार्य सम्पादनको प्रशंसा गर्नु भयो ।

तालिमले कर्मचारीको व्यवहारमा आउने परिवर्तनसँग जोडिने उल्लेख गर्दै असहज परिस्थितिमा पनि तालिम सफलतापूर्वक सम्पन्न हुनेमा आशावादी भएको भनाइ राख्नु भयो । 

गण्डकी प्रदेश  सरकारका निमित्त  प्रमुख सचिव रमेश ढकालले कर्मचारीले तालिमबाट प्राप्त अवसरले सेवा प्रवाहमा सुधार आउने र कर्मचारीहरू व्यवहारिक एवम् समयानुकूल व्यवस्थापकीय सीपमा पोख्त हुनु पर्नेमा जोड दिनु भयो ।

तालिमले  सार्थकता पाउने र प्रभावकारिता हुनेमा प्रदेश सरकारको अपेक्षा रहेको उहाँको भनाइ रहेको छ ।

१ सय २० सत्रमा सञ्चालित तालिममा विभिन्न प्रशिक्षकले सहजीकरण गर्नुहुनेछ । चौथो तहका कर्मचारीहरूलाई जिल्ला सहकारी सङ्घको सभाकक्ष र  पाँचौँ तहका कर्मचारीहरूलाई  कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण स्रोत  केन्द्र, मालेपाटनमा तालिमको व्यवस्थापन गरिएको छ ।

सेवाकालीन तालिममा सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत ६० जना कर्मचारीको सहभागिता रहेको प्रशासकीय अधिकृत प्रज्वल आचार्यले  जानकारी दिनु भयो ।

गण्डकी प्रदेश निजामती ऐन र नियमावलीमा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तीन वर्षमा कम्तीमा पाँच वा सोभन्दा बढी दिनको क्षमता अभिवृद्धि तालिमको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

यसले प्रदेश सरकार कर्मचारीको निरन्तर विकासमा प्रतिबद्ध रहेको देखाउँछ । कार्यक्रममा प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना, तालिम व्यवस्थापन तथा संयोजनको जिम्मेवारी प्रतिष्ठानका उप-सचिव प्रभाकर घिमिरे, निर्देशक सुजन नेपाल र अधिकृत जितबहादुर राना लगायतकाले भनाइसहित शुभकामना राख्नु भएको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसचिव नारायणप्रसाद पौडेलले स्वागत एवम् कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।

Author

Related News