मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

रेडक्रस उपशाखा पोखरा-१७द्वारा रक्तदाता उत्प्रेरणा तथा नेतृत्व विकास तालिम

पोखरा । “जन्मदिनमा रक्तदान गरौँ, रगतको अभावलाई अन्त्य गरौँ” भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटी, पोखरा महानगरपालिका-१७ उपशाखाले आयोजना गरेको रक्तदाता उत्प्रेरणा तथा सामाजिक सङ्घ–संस्थामा नेतृत्व विकाससम्बन्धी तालिम एवम् अभिमुखीकरण कार्यक्रम २०८२ कात्तिक ३० गते पोखरामा सम्पन्न भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले विश्वमा रक्तसञ्चार सेवाको इतिहास करिब ३ सय ५० वर्ष पुरानो रहेको उल्लेख गर्दै सन् १९३२ मा पहिलो रक्तसञ्चार केन्द्र लेलिनगार्ड अस्पतालमा सञ्चालन भएको जानकारी दिनु भयो ।
उहाँका अनुसार नेपालमा रक्तसञ्चार सेवा २०२३ साउन १२ गते वीर अस्पताल नजिकैको सानो घरमा लक्ष्मी ब्लड बैङ्कका नाममा नेपाल रेडक्रस सोसाइटीले सुरु गरेको थियो ।

हाल सोसाइटीले वार्षिक २ सय ८१ हजार युनिटभन्दा बढी रगत सङ्कलन गरी ३ सय ५१ हजारभन्दा बढी युनिट रगत तथा रक्ततत्व वितरण गरिरहेको बताउनु भयो ।

सभापति खड्काले मानव जीवनलाई मानवीय सेवामा समर्पण गर्दै दैवीप्रकोप र विपद्मा राहत, एम्बुलेन्स सेवा, सचेतना अभिवृद्धि तथा रक्तसञ्चार सेवा जस्ता कार्यहरूमा रेडक्रसले निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, पोखरा१७ का वडा सदस्य शिवराम भण्डारी र बिष्णुमाया थापा, उपशाखाका सल्लाहकार शान्तिदेवी गुरुङ र तुल्सीराम बराल, समाजसेवी रविलाल सुवेदी, शितल चौतारी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेल, सिमलटुढा टोल विकास संस्थाका अध्यक्ष भक्त रसाइली तथा रेडक्रस सदस्य वविता सुबेदीलगायत वक्ताहरूले डेंगीका चार प्रकार हुने र यसलाई सामान्य नठानी टोलटोल, सार्वजनिक स्थान, व्यवसायिक प्रतिष्ठान तथा कार्यस्थलमा सरसफाइ अभियान चलाउँदै लार्भा नष्ट गर्नु, सङ्क्रमण रोकथामका उपाय अवलम्बन गर्नु र व्यापक जन–सचेतना आवश्यक रहेको धारणा राख्नु भयो ।

तालिममा प्रादेशिक रक्तसञ्चार केन्द्रकी यमुना केसीले रक्तदाता उत्प्रेरणाबारे, नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रशिक्षक नवराज भण्डारीले डेंगी रोग, यसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका उपायबारे र सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सुष्मा पौडेलले सामाजिक सङ्घसंस्थामा नेतृत्व विकाससम्बन्धी विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम उपशाखा छोरेपाटनका सभापति हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । उपसभापति लक्ष्मी अधिकारीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य प्रस्तुत र सचिव चुडामणि बरालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

तालिममा स्थानीय समुदायका नागरिक, सामाजिक अभियन्ता, रेडक्रसकर्मी, आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिसहित ५५ जनाको सहभागिता रहेको थियो ।

Author

Related News