पोखरा । पोखरा हार्डवयर एशोसिएसन कास्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्य व्यवसायीका कर्मचारीका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
वार्षिक कार्यक्रमअन्तर्गत २०८२ कात्तिक २९ गते आयोजित कार्यक्रममा ३५ जना छात्रछात्राहरूलाई करिब ६० हजार रुपियाँ बराबरका स्कुल ब्याग (झोला) तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको एशोसिएसनले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले एक समारोहबिच बालबालिकालाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
उहाँले हार्डवयर व्यवसायमा प्रयोग हुने सामग्री ढुवानीका क्रममा देखिने समस्या समाधानका लागि ट्राफिक कार्यालय सधैँ सकारात्मक र सहयोगी रहने प्रतिबद्धता जनाउनु भयो ।
अनावश्यक झन्झट न्यूनिकरण गर्दै व्यवसायी तथा सरोकारवालासँग समयसमयमा बसेर छलफल गर्ने कार्यालयको योजनाबारे पनि उहाँले जानकारी दिनु भयो ।
प्रहरी निरीक्षक देवकोटाले जीएनजी आन्दोलनका समयमा क्षतिग्रस्त ट्राफिक कार्यालय भवन पुनर्निर्माणमा पोखरा हार्डवयर एशोसिएसनले गरेको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्नु भयो ।
सोही अवसरमा हालै कास्कीमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक देवकोटालाई एशोसिएसनले सम्मान तथा स्वागत गरेको थियो ।
कार्यक्रममा एशोसिएसनका पदाधिकारी, कार्यसमिति सदस्य, वरिष्ठ सल्लाहकार तथा पूर्वअध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
एशोसिएसनका अध्यक्ष अर्जुनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक बलबहादुर कुवरले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो भने महासचिव प्रतावराज पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।