पोखरा । समुन्नत समाज निर्माणको उद्धेश्यसहित क्रियाशील सृजना विकास केन्द्र, पोखराले पाँच वर्षीय रणनीतिक योजना तर्जुमा गर्न २०८२ कात्तिक २८ गते पोखरामा प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाको विगतका गतिविधि, वर्तमान आवश्यकता र आगामी लक्ष्यका बारेमा विस्तृत बहस–संवाद भएको थियो ।
कार्यक्रममा परामर्शदाता छवि गौडेलले संस्थाको व्यावसायिक योजना, विकासका सम्भावना, अवसर तथा चुनौतीबारे प्राविधिक सहजीकरण गर्नु भयो ।
सृजना विकास केन्द्रका निर्वतमान अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले संस्थाले विगतदेखि शिक्षा, सामाजिक सेवा, लघुवित्त, पूर्वाधार विकासदेखि महिला सशक्तीकरणसम्मका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको बताउँदै आगामी योजनामा समसामयिक र दिगो कार्यक्रम समावेश गरिने जानकारी दिनु भयो ।
छलफलमा सल्लाहकार समितिका सभापति लिलाधर बराल, पूर्व अध्यक्ष राजु पौडेल, हरिप्रसाद बराल, सोमनाथ बराल, अर्जुन श्रेष्ठ, विश्व विजुक्छे, उपाध्यक्ष बालकृष्ण बराल, महासचिव सावित्री बराल, सचिव उर्मिला भट्टराई, कोषाध्यक्ष अशोककुमार श्रेष्ठसहितका सदस्यहरूले संस्थाले आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रमबारे सुझाव राखेका थिए ।
कार्यक्रम सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गरीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत तथा कार्यक्रमको उद्देश्य प्रस्तुत गर्ने काम निर्वतमान अध्यक्ष विष्णुप्रसाद बरालले गर्नुभएको तथा सञ्चालन पूर्वअध्यक्ष मिनप्रसाद भट्टराईले गर्नुभएको थियो ।