पोखरा । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक अर्यालको प्रमुख आतिथ्यतामा वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको ४४औं वार्षिकोत्सव कात्तिक २२ गते पोखरा महानगरपालिका-१५ स्थित क्याम्पस परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रममा उपकुलपति प्रा. डा. अर्यालले संस्थानको शैक्षिक, भौतिक तथा संस्थागत अवस्थाबारे समीक्षा गर्दै, अपेक्षित सुधार र रूपान्तरणका लागि विश्वविद्यालय नेतृत्व गम्भीरतापूर्वक प्रयत्नशील रहेको बताउनु भयो । उहाँले निकट भविष्यमा सकारात्मक परिणाम देखिने विश्वास समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन डा. ठाकुर सिलवाल, पूर्व डीन प्रा. डा. वीरबहादुर खनाललगायतले संस्थान तथा हेटौंडा क्याम्पसको समग्र अवस्था र गतिविधिबारे धारणा राख्नुभएको थियो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव डा. रामचन्द्र कडेल, प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव लगायत वन वन्यजन्तु र वातावरणसम्बन्धी उच्च पदस्थ कर्मचारी, पोखरा नर्सिङ क्याम्पसका प्रमुख प्रा. निता ताम्राकार, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख निर्मल बराल लगायतले शुभकामना दिनु भएको थियो ।
वक्ताहरूले विद्यार्थी भर्ना दरमा आएको कमी, विचमा पढाइ छोड्ने प्रवृत्ति, जनशक्ति व्यवस्थापनमा देखिएको चुनौती, शिक्षक कर्मचारीको वृत्ति विकास र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बजारमुखी तथा समयसापेक्ष पाठ्यक्रम विकासका आवश्यकताहरूमा जोड दिनु भयो ।
त्यसैगरी, विश्वविद्यालयसँग सम्बन्धित स्थायी सम्पत्तिको संरक्षण र व्यवस्थापन, अध्ययन अनुसन्धानमा आधुनिक सूचना प्रविधिको उपयोग र शिक्षकहरूको क्षमता अभिवृद्धि तथा अभिमुखीकरणको आवश्यकता सम्बन्धी विषयमा पनि छलफल गरिएको थियो ।
कार्यक्रम क्याम्पस प्रमुख डा. नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन उप–प्राध्यापक श्रीकान्त शर्मा खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।