मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ । नेपाल प्रहरीका ३३औँ महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा २०८२ कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी प्रहरी सङ्गठनको सर्वोच्च नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उपस्थित आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २६ गते राति १२ बजेबाट अवकाशमा जाँदै हुनुहुन्छ । खापुङले भदौ १९ गतेदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

कार्की वरीयतामा पहिलो स्थानमा रहेकाले नै सरकारले उहाँलाई आईजीपी बनाएको जनाएको छ । २०८२ वैशाखमा खापुङसँगै एआईजीमा बढुवा भएका कार्की महानिरीक्षक पदका प्रमुख दाबेदार मानिँदै आउनु भएको थियो ।

गुल्मी निवासी कार्की २०५४ चैत १८ गते इन्स्पेक्टरबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नु भएकव हो । ऐन तथा नियमावलीमा परिवर्तन नभएमा उहाँ २०८४ चैत १७ गतेसम्म प्रहरी सङ्गठनको नेतृत्व गर्नुहुनेछ ।

जेनजी प्रदर्शनको पहिलो दिन किशोरको ज्यान जाने गरी गोली चलेपछि उत्पन्न संवेदनशील परिस्थितिमा उहाँलाई भोलिपल्टै उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । मानवश्रोतमुखी विभाग छाडेर उहाँले भदौ २४ गते उपत्यकामा हाजिरी गर्नु भएको थियो ।

प्रहरी सेवामा रहँदा कार्कीले लुम्बिनी प्रदेश, काठमाडौं उपत्यका तथा काठमाडौं, कास्की र कपिलवस्तु जिल्लाहरूमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

Author

Related News