मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सहारा आधारभूत विद्यालयमा दाँत तथा कानको निःशुल्क शिविर सुरू

पोखरा । विपन्न समुदाय तथा जैविक विविधतासम्बन्धी क्रियाशील संस्था नेलम्बो नेपाल को प्राविधिक सहयोग र पोखरा महानगरपालिका-९ को समन्वयमा सहारा बाल आधारभूत विद्यालय, बसपार्कमा तीनदिने दाँत तथा कानको निःशुल्क शिविर तथा सचेतनामूलक कार्यक्रम २०८२ कात्तिक २३ गतेदेखि सुरू भएको छ ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कक्षा ८ की छात्रा शिलिषा परियारलाई ओपीडी स्लिप प्रदान गर्दै गर्नु भयो ।


आचार्यले निःशुल्क दन्त र कान शिविरसँगै बालबालिकामाझ सञ्चालित सचेतनामूलक कार्यक्रम सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले सहारा विद्यालय हाल पालिकाभित्र चर्चाको विषय बनेको उल्लेख गर्दै विद्यालयमा देखिएका समस्याको समाधानका लागि महानगरले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले विशेष परिस्थितिका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको शिविरप्रति खुशी व्यक्त गर्दै, सहारा क्लबद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीका आश्रित बालकहरूका लागि पनि यस्ता कार्यक्रम विस्तार गर्न अनुरोध गर्नु भयो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले आगामी वर्षदेखि सहारा विद्यालय र सहारा एकेडेमीमा वार्षिक कार्ययोजना बनाएर स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । “प्रभावकारी सिकाइका लागि स्वस्थ शरीर अपरिहार्य हो ।”- उहाँले भन्नु भयो ।

पोखरा महानगरपालिका-९ का वडासदस्य नन्दराम गिरीले विद्यालयका विभिन्न क्षेत्रमा भइरहेको प्रगतिप्रति प्रसन्नता व्यक्त गर्दै, निम्न माध्यमिक तहमा शिक्षक अभावका कारण शिक्षण-सिकाइ प्रभावित हुने स्थिति देखिएकाले चाँडै समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानी, जनप्रतिनिधि लक्ष्मी पहारी, शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मी तथा अन्य वक्ताहरूले नेलम्बो नेपालले सञ्चालन गरेको सामाजिक उत्तरदायित्व कार्यक्रमले सिकाइलाई पनि अर्थपूर्ण बनाएको धारणा राख्नु भयो ।

विद्यालयका अध्यक्ष विक्रम थकालीले अव्यवस्थित बस्तीमा बसोबास गर्ने बालबालिकालाई शिविरले प्रभावकारी सेवा दिन सफल भएको बताउनु भयो ।

तीन दिनसम्म चल्ने शिविरबाट २ सय ९० जना लाभान्वित हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो दिनमा २ सय जना सेवाग्रहीले निःशुल्क उपचार पाएको विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले जानकारी दिनु भयो ।

कार्यक्रममा सहारा क्लबका पदाधिकारी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, नेलम्बो नेपालको प्राविधिक टोली, टोल विकास समिती तथा आमा समूहका प्रतिनिधिहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता थियो ।


कार्यक्रमको स्वागत प्रधानाध्यापक अधिकारीले तथा सञ्चालन शिक्षक सुदिप कोइरालाले गर्नुभएको थियो ।

Author

Related News