पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी उप-शाखा, पोखरा महानगरपालिका-५ को आयोजनामा डेंगी रोग सङ्क्रमण तथा नियन्त्रणसम्बन्धी सामुदायिक अभिमुखिकरण कार्यक्रम तथा “खोज र नष्ट गरौं” अभियान २०८२ कात्तिक २२ गते सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाल रेडक्रस सोसाइटी कास्कीकी उप-सभापति रमा कोइरालाले मानव स्वास्थ्यलाई ध्यानमा राख्दै समुदाय स्तरमा घर-घर र समुदाय-समुदायमा अभियान सफल बनाउन सबैलाई अनुरोध गर्नु भयो ।
उहाँले भने-“रोग लागि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । यसतर्फ सचेत हुनु सम्पूर्ण वडावासीको महत्वपूर्ण जिम्मेवारी हो ।”

उप-सभापति कोइरालाले व्यवसाय तथा कलकारखाना सञ्चालन गर्दा सञ्चालकहरूले कर्मचारी र स्थानीय नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने र यसले अस्पतालमा अनावश्यक खर्च कम गर्ने बताउनु भयो ।
कार्यक्रममा स्थानीय समुदायका नागरिक, सामाजिक अभियन्ता, रेडक्रसकर्मी, आमा समूह र टोल विकास संस्थाका प्रतिनिधिहरूले मालेपाटन क्षेत्रका टोल, सार्वजनिक स्थल, कार्यशाला र हार्डवेयर पसलहरूमा सरसफाइ गर्दै डेंगीका कीराहरू नष्ट गर्ने र नागरिकलाई रोग सङ्क्रमण तथा नियन्त्रणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने काम गरेका थिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उप-शाखा, पोखरा महानगरपालिका-५ का अध्यक्ष केशव कोईरालाको अध्यक्षतामा तथा सचिव प्रदिप सुबेदीको नेतृत्वमा सञ्चालन भएको थियो ।