मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ को आयोजनामा, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा शहरी स्वास्थ्य केन्द्रको समन्वय र राइटफर चिल्ड्रेनको सहयोगमा स्त्रीरोगसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर २०८२ कात्तिक २२ गते शहरी स्वास्थ्य केन्द्र-१७ को परिसरमा सम्पन्न भयो ।

शिविरबाट १ सय १२ जना महिला लाभान्वित भएका छन् । तिनीमध्ये एक जनालाई पाठेघरको मुखको क्यान्सरको थप उपचारका लागि रिफर गरिएको छ भने ४० जनामा इन्फेक्सन देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सेवाग्राहीहरू २० देखि ७७ वर्ष उमेर समूहका रहेका वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले जानकारी दिनु भयो ।

वडा अध्यक्ष शाहीका अनुसार तीन तहको सरकारमध्ये स्थानीय तह नै नागरिकको घरआँगनमा पुग्ने, दैनन्दिन समस्या तुरुन्त सुन्ने र समाधान खोज्ने संवेदनशील तह भएको बताउनु भयो ।

उहाँले महिलाको स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयप्रति वडाले निरन्तर सचेत रहँदै सामाजिक संस्थाको सहकार्य र मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञको समन्वयमा स्वास्थ्य सेवा विस्तार गर्दै आएको उल्लेख गर्नु भयो ।

अध्यक्ष शाहीले आगामी दिनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू लक्षित गर्दै स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रम थप प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनु भयो ।

आर्थिक अभावका कारण धेरै दिदीबहिनीहरूले निजी अस्पतालमा गएर महङ्गो उपचार गराउन नसक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो शिविरबाट महत्त्वपूर्ण राहत पुगेको उनको भनाइ छ ।

शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. सविन श्रेष्ठको नेतृत्वमा डा. आकृति बस्नेत, स्वास्थ्यकर्मी अनिता शर्मा, अस्मिता पौडेल, मिनाकुमारी गौतमले सेवा प्रदान गरेका थिए ।


त्यसैगरी महिला स्वास्थ्य स्वयम्सेविका सविता भण्डारी, कृष्णकुमारी मल्ल, इन्दिरा भण्डारी, विमला कार्की, शिला गिरी र लक्ष्मी मल्लले सहजीकरणमा साथ दिनु भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरू शिवराम भण्डारी, तारा परियार, विक्रम गुरुङ तथा राइटफर चिल्ड्रेन, पोखराका रमेश खड्काले शुभकामना व्यक्त गर्नु भएको थियो ।

शिविरको अध्यक्षता वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले गर्नु भएको थियो । स्वागत तथा उद्देश्यमाथि प्रस्तुती स्वास्थ्य महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक सविना श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन शहरी स्वास्थ्य केन्द्र-१७ की प्रमुख हेलन पन्तले गरेकी हुन् ।

Author

Related News