पोखरा। लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको आयोजनामा लायन निर्मलराज बरालकी धर्मपत्नी भगवती बरालको ५६औं जन्मोत्सवको अवसरमा हङ्गर रिलिफ कार्यक्रम–२०८२ अन्तर्गत वात्स्यायन वृद्धाश्रम, पोखरा महानगरपालिका-१४ बाच्छीबुडुवामा एक सामाजिक सेवा कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको सहयोगार्थ क्लबले ३७ हजार रूपियाँ आर्थिक सहयोग प्रदान गरेको क्लब अध्यक्ष लायन भीमा पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वात्स्यायन वृद्धाश्रमका अध्यक्ष ललितबहादुर बानियाँले लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले सामाजिक सेवाको यात्रासँगै वृद्ध आमाबुबाहरूको स्वास्थ्य र भोजनका लागि देखाएको मानवीय कार्य प्रशंसनीय रहेको बताउनु भयो ।
उहाँले क्लबलाई आगामी दिनमा अझ प्रभावकारी, सचेतनामूलक र नैतिक कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक प्रभाव पार्न आग्रह गर्नु भयो ।
सो कार्यक्रममा वात्स्यायन वृद्धाश्रमका सहसचिव सविना अधिकारी क्षेत्री, लायन रेशमबाबु श्रेष्ठ, लायन केदारप्रसाद श्रेष्ठ, लायन खेम क्षेत्री, लायन खगेश्वर पन्थलगायतले शुभकामना व्यक्त गर्दै आआफ्ना विचारहरू प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वृद्धाश्रमका कार्यसमिति सदस्य, कर्मचारी, लायन्स क्लबका पूर्वअध्यक्ष, सल्लाहकार र कार्यसमिति सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका पूर्वअध्यक्ष एवम् इन्टरनेशनल डिस्ट्रिक ३२५ एम नेपालका सेक्टोरियल एडभाइजर लायन निर्मलराज बरालको सक्रिय नेतृत्व, समर्पण र लगनशीलताले कार्यक्रम सफल र प्रभावकारी बनेको बताइएको छ ।
कार्यक्रमको सफलताका लागि सहयोग गर्ने सबैप्रति अध्यक्ष लायन भीमा पौडेलले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन कुलबहादुर श्रेष्ठले गर्नुभएको थियो ।