मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आज अस्ताउँदो सूर्यलाई, भोलि उदाउँदो सूर्यलाई अर्घ

ललितपुर । नेपालभर २०८२ कात्तिक १० गते छठ पर्वको मुख्य दिन श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ ।

आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने परम्परा अन्तर्गत देशभरका नदी, पोखरी र जलाशयहरूमा भक्तजनहरूको भीड लागेको छ ।

छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी व्रत समापन गरिने परम्परा रहेको छ । यस अवसरमा आज सार्वजनिक बिदा पनि दिइएको छ ।

व्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गर्छन् । राजधानी काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत स्थानमा विशेष पूजा स्थलहरू निर्माण गरिएको छ ।

मुख्य रूपमा तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रका मानिसहरूले पनि आस्थापूर्वक मनाउन थालेका छन्, जसले सामाजिक सद्भाव र एकताको सन्देश दिएको छ ।

तराईका जलजलाशय र नदीहरूमा भक्तजनले छठको तयारीस्वरुप पुजास्थल निर्माणको कामलाई बिहानैदेखि तीव्रता दिएका छन् ।

धार्मिक विश्वासअनुसार छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारमा सुख–समृद्धि आउने र दुःखकष्ट दूर हुने मान्यता छ ।

व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै शुद्ध भोजन ग्रहण गरी सात्त्विक जीवनशैली अपनाउने गर्छन् ।

केही व्रतालुहरूले भने कोजाग्रत पूर्णिमापछि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ त्याग गरेर पवित्रता पूर्वक व्रत प्रारम्भ गर्ने गर्छन् ।

यसरी पवित्रता, अनुशासन र श्रद्धाले मनाइने छठ पर्व आज सबै वर्ग र क्षेत्रका मानिसहरूबीच साझा आस्थाको पर्वका रूपमा परिवर्तित हुँदै गएको छ ।

(फोटोः बरमझिया, धनुषास्थित कमला नदीमा छठ पुजाको लागि घाट निर्माण गरिँदै गरेको अवस्थाको फोटो विनोदकुमार रविदासले खिच्नु भएको हो ।)

Author

Related News