मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्व. कार्कीको स्मृतिमा प्रतीक्षालय निर्माण

पोखरा । कर्णप्रिय बोली, मुसुक्क मुस्कान र उच्च संस्कारले प्रिय बन्नुभएको थियो सीता कार्की । उहाँले जीवनभर देखाउनुभएको सकारात्मक दृष्टिकोण र सेवाभावले धेरैलाई प्रेरित बनाएको थियो ।

कार्कीको निधन २०७१ सालमा भएको भएपनि उहाँको सम्झना ताजै रहेको लायन्स क्लब अफ पोखराले जनाएको छ ।

सायद, असल र ज्ञानी आत्माको आवश्यकता स्वर्गलोकमा पनि परेको थियो, त्यसैले भगवानले उहाँलाई यति चाँडै आफ्नैमा लैजानु भयो ।

सन् २०२५-२६ का लागि “खुशीका लागि सेवा” भन्ने नारा अनुरूप, लायन्स क्लब अफ पोखरा कोहिनुर भिलेजले स्व. सीता कार्कीको स्मृतिमा निर्मित प्रतीक्षालयको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम २०८२ कात्तिक ८ गते पोखरा महानगरपालिका-१८, राष्ट्रिय विभूति तथा सहिद पार्क परिसरमा सम्पन्न गर्‍यो ।

कार्यक्रमको उद्घाटन लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एम नेपालका क्याबिनेट सेक्रेटरी लायन्स जगन्नाथ तिमिल्सिनाले गर्नु भयो ।

उहाँले लायन्स क्लबले समाजप्रति गरेको सकारात्मक योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै भन्नु भयो- “मानवीय सेवामा समर्पित कार्यहरूको पूर्ण प्रशंसा कुनै शब्दले गर्न सकिँदैन ।”

कार्यक्रममा क्याबिनेट ट्रेजरर अमरबहादुर केसी, राष्ट्रिय विभूति तथा सहिद पार्कका अध्यक्ष भरतबहादुर थापा, डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर शिवराज आचार्य, रिपोर्टिङ चिफ विकास भुर्तेल, जीएलटी डिस्ट्रिक्ट को–अर्डिनेटर लक्ष्मण तिमिल्सिना, ब्लड डोनेशन कोअर्डिनेटर रजनी बराल, जोन चेयरपर्सन सङ्गिता कार्की र लायन्स क्लब अफ पोखरा मोनालिसाकी अध्यक्ष सकुन्तला पौडेललगायतले स्व. सीता कार्कीलाई सेवाभाव, ममतामय मुस्कान र समाजप्रतिको समर्पणका प्रतीकका रूपमा स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

उहाँहरूको भनाइमा स्व. कार्कीको सम्झनामा बनेको प्रतीक्षालय सामूहिक प्रेम, सम्मान र सम्झनाको स्थायी प्रतीक बनेको छ ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा कोहिनुर भिलेजकी अध्यक्ष लायन्स अमृता लामिछानेले अतिथि, शुभेच्छुक तथा सम्पूर्ण लायन्स परिवारप्रति आभार प्रकट गर्नु भयो ।

क्लस्टर चिफ दिलु तिवारीले धन्यवाद ज्ञापन गर्नु भयो भने प्रथम उपाध्यक्ष लायन्स बुद्धि गुरुङले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव निरू कँडेलले गर्नु भएको थियो ।

Author

Related News