मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

शुभकामना र धन्यवाद कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ ले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको वडाकार्यालयलाई पुनःस्थापनाका लागि जिन्सी तथा प्राविधिक सामान सहयोग गर्ने विभिन्न सङ्घसंस्था र व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यका साथ २०८२ कार्तिक ३ गते शुभकामना आदानप्रदान तथा सधन्यवाद कार्यक्रम आयोजना गरेको छ ।

नेपाली सेनाका अनुसार २०८२ भदौ २३ गते सुरु भएको भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्धको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो-जसमा प्रदर्शनकारी २२ जना, कैदीबन्दी १० जना, प्रहरी तीन जना र अन्य ४१ जना थिए ।

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो ।
प्रहरी कार्यालय ३ सय ७, सरकारी कार्यालय ६ सय ८८, निजी निवास २ सय ५९, पार्टी कार्यालय १ सय ९८ र व्यापारिक प्रतिष्ठान १ सय २८ ओटा क्षतिग्रस्त भएका थिए ।

भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण वडा नं १७ पनि क्षतिग्रस्त भएको थियो । त्यसपछि वडाको पुनःस्थापनाका लागि आवश्यक जिन्सी तथा प्राविधिक सहयोग उपलब्ध गराउने ४६ ओटा क्लब, आमा समूह, टोल विकास संस्था, सङ्घसंस्था तथा व्यक्तिहरूलाई धन्यवाद र सम्मान गरिएको वडाध्यक्ष राधिकाकुमारी शाही योगीले जानकारी दिनु भयो ।

वडाध्यक्ष शाहीका अनुसार, पाँच जना जनप्रतिनिधिको सानो टिम भएर पनि वडावासी, स्थानीय सङ्घसंस्था र व्यक्तिहरूको सहयोग र साथले वडाको काम गर्न हौसला मिलेको बताउनु भयो ।

उहाँले वडावासीको उदाहरणीय योगदानप्रति आभार प्रकट गर्दै, समुदायका समस्या समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

शुभकामना सन्देशमार्फत वडाध्यक्ष शाहीले नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो-“रङ्गीचङ्गी फूल र बत्तिको झिलिमिलीले देशभर उज्यालो फैलिने यो पर्वले सत्य र न्यायको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ । काग, कुकुर, गाई, गोबर्द्धन र लक्ष्मीको पूजा गरी अन्त्यमा भाइटीका लगाउने परम्परा हाम्रो सांस्कृतिक सम्पदाको प्रतीक हो ।”

शाहीले देउसीभैलो खेल्ने परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।

वडा सचिव सुरेन्द्रप्रसाद शर्माका अनुसार, वडालाई २० लाख रुपियाँभन्दा बढी मूल्यका जिन्सी सामान सहयोग प्राप्त भएको छ ।

वडाले नगद सहयोग नलिएको र केवल सामग्री सहयोगमात्र स्वीकार गरिएको उहाँले जानकारी दिनु भयो ।

सहयोग गर्नेहरूमा गोमा कुमारी श्रेष्ठ, अमर सापकोटा, सच्चाइ केन्द्र नेपाल, रामजी प्रसाद शर्मा, नारीशक्ति जागरण आमा समूह, हरियाली टोल विकास संस्था, लगनशील महिला आमा समूह, तोयनाथ पौडेल, शिशुनिकेतन मार्ग टोल सुधार समिति, कास्की इन्डस्ट्रिज प्रा.लि., सुमित्रा लम्साल, हिमालयन स्कुलका प्रतिनिधिहरू, जनजागरण टोल विकास संस्था, ड्यामसाइड क्लब, ड्यामसाइड टोल विकास संस्था, रानाभाट समाज पोखरा, पुष्प (तेजकुमारी) गुरुङ, जागृति टोल विकास संस्था, मदन आश्रित टोल विकास संस्था, नमस्ते आमा समूह तल्लो रातोपैहा, हिमालयन म्युजियम टोल विकास संस्था, विष्णुप्रसाद बराल, छिमेकी आमा समूह, शितल चौतारी आमा समूह, लक्ष्मी कुमारी शर्मा, आर.टी.ओ. रोड सुधार समिति, विजय गुरुङ, सिदार्थ सक्रिय आमा समूह, हनुमान टोल विकास संस्था, ढुङ्गेसाँघु सितापाइला आमा समूह, सिद्देश्वर–हरिहर मन्दिर संयुक्त समिति, ध्रुव काफ्ले, डेभिज फल्स टोल विकास संस्था, खड्गबहादुर शाही र लक्ष्मी शाही, विमल भट्टराई, डेभिज फल्स क्लब, माछापुच्छ्रे टोल विकास संस्था तथा आमा समूह, महिला उद्धार आमा समूह, सन्तोष मल्ल (यू.के.), मिजार समाज कास्की, सिद्दार्थ राजमार्ग टोल विकास संस्था, होटल साङ्ग्रिला भिलेज प्रा.लि., सितलपथ टोल विकास संस्था, तुलसी अधिकारी (जगदम्भा पेट्रोल पम्प), सितलचौतारी टोल विकास संस्था, अमले मार्ग टोल विकास संस्था र झङ्कनाथ पौडेल लगायत रहनु भएको छ ।

यी सङ्घसंस्थाहरूले रङ्गरोगन, विद्युत् व्यवस्थापनदेखि कम्प्युटर, प्रिन्टर, कुर्ची, टेबल, दराज लगायतका सामग्री सहयोग गरेका कारण वडाले सबैलाई सम्मानपत्र प्रदान गरेको हो ।

कार्यक्रममा वडा सदस्यहरू तारा परियार, बिष्णुमाया थापा, सहयोगीहरूको तर्फबाट समाजसेवी अनन्तराज लम्साल, शिवलाल उपाध्याय, यामनाथ सुवेदी, सीता काफ्ले लगायतको उपस्थितिमा छोरेपाटन प्रहरी चौकीका असई गौतम श्रेष्ठले वडाको भौतिक र सामाजिक विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सोही अवसरमा वडापरिसरमा वर, पिपल, स्वामी, अम्बा, लिची, आँप, अमला लगायतका फलफूल तथा अन्य प्रजातिका १० ओटा बिरुवा रोपण गरिएको थियो ।

उक्त वृक्षारोपण कार्यक्रममा समाजसेवी तथा सामाजिक अभियन्ता सिताराम दाहाल सक्रिय सहभागी हुनुहुन्थ्यो भने कार्यक्रम वडाध्यक्ष राधिकाकुमारी शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता वडाध्यक्ष शाहीले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा सदस्य शिवराम भण्डारीले र सञ्चालन वडा सदस्य बिक्रम गुरुङले गर्नुभएको थियो ।

Author

Related News