मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा-१७ मा नवौँ ड्यामसाइड दीपावली-२०८२ सम्पन्न

पोखरा । “संस्कृतिको जगेर्ना गरौँ, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याऔँ” भन्ने नारासहित पोखरा महानगरपालिका वडा नं. १७ र ड्यामसाइड क्लब जापानको विशेष सहयोगमा ड्यामसाइड क्लब पोखरा-१७ द्वारा आयोजित नवौं ड्यामसाइड दीपावली सांस्कृतिक साँझ-२०८२ सम्पन्न भएको छ ।

२०८२ साल कात्तिक २ गते ड्यामसाइड, पोखरा-१७ मा आयोजित कार्यक्रमकी प्रमुख अतिथि तथा वडा नं. १७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले नेपालीका चाड पर्वहरू दशैं, तिहार लगायतका पर्वहरूले सामाजिक र सांस्कृतिक मूल्य-मान्यताको संरक्षण तथा प्रवर्धन गर्ने जिम्मेवारी सबैमा रहेको बताउनु भयो ।

उहाँले यस्ता पर्वहरूले आपसी सद्भाव, भाइचारा र एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।

ड्यामसाइड क्लबका अध्यक्ष रमेश बरालका अनुसार युवाहरूले आपसी भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित ड्यामसाइड क्लबको स्थापना सन् २०५९ सालमा भएको हो ।

खेलकुदसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै क्लबले विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको उहाँले बताउनु भयो ।

यस वर्ष क्लबले ड्यामसाइड क्लबका संस्थापक सदस्य तथा समाजसेवी कल्पना श्रेष्ठलाई लामो समयदेखि सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप ताम्रपत्र, दोसल्ला र नगद १५ हजार ५ सय ५५ रुपियाँसहित सम्मान गरेको थियो ।

यसअघि क्लबले पहिलो वर्ष पर्यटन क्षेत्रका हरिध्वज तुलाचन, दोस्रो वर्ष पत्रकार दिपेन्द्र श्रेष्ठ, तेस्रो वर्ष खेलकुद क्षेत्रमा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई र चौथो वर्ष प्रविधि तथा निजामती सेवामा किसान सिंह गुरुङलाई सम्मान गरिसकेको अध्यक्ष बरालले जानकारी दिनु भयो ।

यो वर्षको ‘वर्ष सम्मान पुरस्कार छनोट समिति’ पूर्व अध्यक्ष पदमबहादुर ढकालको संयोजकत्वमा गठन गरिएको थियो, जसमा राजेन्द्र तामाङ, राजु गुरुङ, विनोद परियार र गोकुल सापकोटा सदस्य रहनु भएको थियो ।

सांस्कृतिक साँझमा कलाकार यमबहादुर नेपालीसहित विभिन्न स्थानीय कलाकारहरूले आ–आफ्ना मनमोहक प्रस्तुति दिनु भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरू शिवराम भण्डारी, बिक्रम गुरुङ, विष्णुकुमारी थापा, पर्यटन व्यवसायी बञ्चुराम तिवारी तथा मानव अधिकार आयोग पोखराका अधिकृत टङ्कप्रसाद खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष रमेशप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष पुजन थकालीले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव राकेश श्रेष्ठले गर्नु भएको थियो ।

Author

Related News