ललितपुर । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले आगामी कात्तिक ६ गते मनाइने भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौं उपत्यकाका लागि भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा तय गरिएको छ ।
सभापति भट्टराईका अनुसार भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा भने स्थानीय समयअनुसार बिहान ११ देखि १२ बजेसम्म टीका लगाउने उत्तम साइत रहनेछ ।
समितिले काठमाडौंको साइतलाई सबैभन्दा उपयुक्त समय मानेको छ । यद्यपि, सदस्यसचिव पन्थीका अनुसार भौगोलिक दूरी र समयअन्तरका कारण आफ्नै स्थानअनुसार अनुकूल समयमा पनि भाइटीका लगाउन सकिनेछ ।
