मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नर्सका मागप्रति गम्भीर छु : मन्त्री पाठक

पोखरा । पोखरास्थित मणिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल मेडिकल कलेजमा कार्यरत नर्सहरूले श्रम ऐनअनुसार १९ हजार ५ सय तलबलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनअनुसार कायम गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

नर्सहरूले २०८२ असोज १० गतेदेखि आफ्ना विभिन्न माग राख्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् ।

उक्त आन्दोलनप्रति गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनु भयो ।

मन्त्री पाठकका अनुसार २०८२ असोज ३० गते आन्दोलनरत नर्सहरूसँग मन्त्रालयमा भएको सौहार्दपूर्ण संवाद सकारात्मक रह्यो ।

उहाँले सम्बन्धित मेडिकल कलेजको व्यवस्थापन र नर्सबिच दोहोरो संवादबाट छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नु भयो ।

निजी अस्पतालका नर्सहरूले सरकारको दरअनुसार पारिश्रमिक माग गरेपछि अस्पताल सञ्चालकहरूले सो माग व्यवहारिक नभएको बताएका छन् ।

तर, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गण्डकीका अध्यक्ष कपिल पोखरेलले २०८२ असोज २९ गते पत्रकार सम्मेलन गर्दै श्रम ऐनअनुसार नै तलब दिइरहेको र मन्त्रालयको निर्देशनअनुसार पनि पालना गर्न सकिने जनाउनु भयो ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष असोजमा सबै स्वास्थ्य संस्था र अस्पताललाई सरकारी सेवामा कार्यरत नर्सको दरअनुसार पारिश्रमिक दिन निर्देशन दिएको थियो ।

उक्त निर्देशन पालना नभएकाले हाल मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् ।

सरकारी दरअनुसार चौथो तहका अनमीलाई ३५ हजार २ सय ८८, पाँचौं तहका स्टाफ नर्सलाई ३८ हजार २ सय ९०, छैठौँ तहका अधिकृतलाई ४४ हजार ३ सय २५, सातौं तहका ४६ हजार ५ सय १५, आठौं तहका ४८ हजार ३२, नवौं तहका ५१ हजार ६ सय ६०, दशौं तहका ५५ हजार ९ सय ६४, एघारौं तहका ५७ हजार ८ सय ६२ र बाह्रौं तहका ६६ हजार ८ सय ६० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

मणिपाल शिक्षण अस्पतालका निर्देशक प्रा. अभिषेक मास्केले आन्दोलनरत नर्सहरूसँग केही सहमति भए पनि कार्यान्वयनमा समस्या आएको बताउनु भयो ।

उहाँले भन्नु भयो-“सरकारको कुनै अनुदान छैन, अनि यति दे भनेर आन्दोलन चर्काउनु पनि मिल्दैन । हामीले श्रम ऐनअनुसार तलब दिएका छौं, कतिपयले त्यसभन्दा बढी पनि पाएका छन् ।”

अस्पतालले स्वास्थ्य बीमासम्बन्धी रकम सरकारले नतिरेकाले आर्थिक समस्या झेलिरहेको उहाँको भनाइ छ । मास्केले नर्सहरूलाई वार्ता र सहमतिको बाटोबाट समस्या समाधान गर्न आग्रह गर्नु भयो ।

Author

Related News