मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मानव अधिकार अभिलेख सम्पादन भेला सम्पन्न

पोखरा । मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६” का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक सम्पादन भेला असोज २६ गतेदेखि सुरु भई असोज २९ गते पोखरामा सम्पन्न भएको छ ।

इन्सेकले सन् १९९२ देखि निरन्तर रूपमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू समेटेर “नेपाल मानव अधिकार वर्ष पुस्तक” प्रकाशन गर्दै आएको छ । आगामी २०२६ अंक पुस्तकको ३४ औँ संस्करण हुनेछ ।

सम्पादन भेलामा सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म इन्सेकका ७७ ओटै जिल्लामा रहेका प्रतिनिधिहरूद्वारा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको तथ्य, प्रमाण र विवरणहरू सम्पादन गरिएका बताइएको छ ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक गणेश भण्डारीले उक्त भेलाको उद्देश्य सङ्कलित सूचनाहरूलाई तथ्यगत रूपमा सम्पादन गरी सातै प्रदेशमा भएका घटनालाई एकरुपता दिने रहेको जानकारी दिनु भयो ।

इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत मदन पौडेलले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि सम्पादन भेलाले सूचनाहरूको पुष्टि र पुनर्पुष्टि गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको जानकारी दिनु भयो ।

समापन समारोहमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले सत्य र प्रमाणमा आधारित मानव अधिकार वर्ष पुस्तकले इन्सेकको विश्वसनीयतालाई अझ मजबुत बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि तथ्यमा आधारित प्रकाशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

भेलामा इन्सेक इन्सेक वाग्मती प्रदेश संयोजक शिवप्रसाद खकुरेल, इन्सेक अनलाइनका सम्पादक गोविन्द त्रिपाठी, गीता मालीसहित सातै प्रदेशका प्रलेख अधिकृतहरूको सहभागिता रहेको जनाइएको छ ।

Author

Related News