मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघको २२औँ साधारणसभा सम्पन्न

पोखरा । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घ, कृषि बजार पोखरा-९ को २२औँ साधारणसभा तथा सम्मान कार्यक्रम २०८२ असोज २९ गते सम्पन्न भएको छ । २०६० सालमा स्थापना भएको सङ्घमा हाल १ सय ४८ जना सदस्य रहेका छन् ।

नेपाल फलफूल तथा तरकारी थोक व्यवसायी महासङ्घका अध्यक्ष भरतप्रसाद खतिवडाले देशको पछिल्लो आर्थिक र राजनीतिक अवस्थाले व्यवसायीहरूलाई प्रताडित बनाएको बताउँदै निराश नहुन व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।

उहाँले यस्तो विषम परिस्थितिमा पनि फलफूल तथा तरकारी व्यवसाय अपेक्षाकृत सुरक्षित रहेको उल्लेख गर्दै भन्नु भयो-“हामी आफैंबीचको विभाजन अन्त्य गरी व्यवसाय र पेशा जोगाउने जिम्मेवारी हाम्रै हो ।”

अध्यक्ष खतिवडाले कोभिड, नाकाबन्दी, भूकम्प र विभिन्न आन्दोलनका कारण व्यवसायहरू प्रभावित भएको उल्लेख गर्दै करोडौंको लगानीमा स्थापित व्यवसाय धरासायी भएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । साथै, राज्यले व्यवसायीमैत्री बजेट र नीतिमा जोड दिनुपर्ने सुझाव पनि दिनु भयो ।

कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडीले बजारभित्रका सबै व्यवसायीको सुरक्षामा ध्यान दिइने बताउँदै, “बजार क्षेत्रमा गैर–नेपाली व्यवसायी छैनन् ” भनेर स्पष्ट पार्नु भयो ।

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले देशको वर्तमान परिस्थितिले उद्योगी व्यवसायीलाई मार परेको बताउनु भयो ।


त्यस्तै, पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतमले कृषिको व्यावसायीकरण गर्न सकिए राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताउँदै, मन दह्रो बनाएर देशको परिस्थितिसँग जुध्दै अघि बढ्न व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।

महासङ्घ गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र गिरीले व्यवसायीका हक, हित र संरक्षणका लागि सबै किसिमका सहयोग गरिने उल्लेख गर्दै सबै व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिनु भयो ।

कृषि उपज बजार महिला सङ्घकी अध्यक्ष सरस्वती श्रेष्ठले देशको वर्तमान अवस्थाले व्यवसायीहरू त्रासमा रहेको बताउँदै भन्नु भयो- “ढुक्कले व्यवसाय गर्न पाउने वातावरण अझै बनेको छैन, बजारभित्र सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।”

कार्यक्रममा महासङ्घका उपाध्यक्ष तथा सङ्घका सल्लाहकार निर्मलप्रसाद बास्तोला, सङ्घका पूर्वअध्यक्ष रामकृष्ण दुवाडी, निवर्तमान अध्यक्ष विष्णु हमाल, र मजदुर ढुवानी इकाइका अध्यक्ष प्रीतमबहादुर पौडेललगायतले आआफ्नो धारणा र शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभामा सङ्घका सचिव लालप्रसाद ढकालले आर्थिक वर्ष २०८१/०८२ को संस्थागत प्रगति प्रतिवेदन, र कोषाध्यक्ष भिमप्रसाद सुबेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । दुवै प्रतिवेदनहरू छलफलपछि सुझावसहित सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

कार्यक्रममा तीन जना व्यवसायीलाई सम्मान गरिएको थियो ।

  • अग्रज व्यवसायी : अक्कलबहादुर सिके
  • उत्कृष्ट व्यवसायी : गोकर्ण अधिकारी
  • उत्कृष्ट महिला व्यवसायी : रञ्जिला अधिकारी पाठक

सङ्घका अध्यक्ष दुर्गाप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण मैनालीले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रम सञ्चालन सचिव लालप्रसाद ढकालले गर्नुभएको थियो ।

Author

Related News