पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरको सहकार्यमा आयोजित पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम असोज २७ गते सम्पन्न भएको छ ।
“विज्ञ नक्साङ्कन तथा क्षमता अभिवृद्धिका लागि प्रशिक्षक प्रशिक्षण” शीर्षकको यो तालिम असोज २३ गतेदेखि सुरु भई पोखरामा सञ्चालन गरिएको थियो ।
तालिममा विभिन्न सङ्घसंस्थाका ३२ जना सहभागी तथा प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक तथा प्रमुख प्रशिक्षक विनोदकुमार विष्टले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षण अवधिभर निर्देशकद्वय चाँदनी कायस्थ र शैलजा उपाध्याय पौडेलले आवश्यकता मूल्याङ्कन, पाठ्यक्रम डिजाइन, सत्र उद्देश्य निर्धारण, प्रशिक्षण विधिको छनोट, प्रस्तुतीकरण सीप, प्रशिक्षण व्यवस्थापन, सहभागिता मूलक सिकाइ प्रविधि लगायतका विषयमा प्रयोगात्मक अभ्याससहित सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट शेखर गौतम, हरिमाया दाहाल, परिषद् सदस्यद्वय एवं अधिवक्ता सुष्माकुमारी पौडेल र सरिता तिमल्सिना पङ्गेनीले तालिमबाट प्राप्त ज्ञान र अनुभवबारे आआफ्ना धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यक्रम संयोजक एवम् निर्देशक लक्ष्मण तिमिल्सिना, निर्देशक सुजन नेपाल लगायतले पनि आ-आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले गर्नुभएको थियो भने सञ्चालन प्रशिक्षक तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गर्नुभएको थियो ।