मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरामा प्रशिक्षक प्रशिक्षण तालिम सुरू

पोखरा । “व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” भन्ने नारासहित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको सहकार्यमा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम २०८२ असोज २३ गतेदेखि पोखरामा सुरू भएको छ ।

तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले २०७५ सालदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्तरमा तालिमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नु भयो ।

उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गाउँगाउँमा प्रयोगात्मक ढङ्गले समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिनु भयो ।

तालिममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा प्रशिक्षकहरूले सहजीकरण गर्दै हुनुहुन्छ ।

कार्यक्रममा प्रशिक्षण आवश्यकता मूल्याङ्कन, पाठ्यक्रम डिजाइन, सत्र उद्देश्य निर्धारण, प्रशिक्षण विधिको छनोट, प्रस्तुतीकरण सीप, प्रशिक्षण व्यवस्थापन, सहभागितामूलक सिकाइ र समन्वयका विविध पक्ष समेटिएका छन् ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेश सरकार मातहतको एकीकृत तालिम केन्द्र (स्टाफ कलेज) को रूपमा स्थापित संस्था हो, जसले प्रदेश तथा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि र नियुक्त पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि कार्य गरिरहेको छ ।

उद्घाटन कार्यक्रम गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबू तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम संयोजक एवम् निर्देशक लक्ष्मण तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

तालिम २०८२ असोज २३ गतेदेखि असोज २७ गतेसम्म चल्नेछ, जसमा विभिन्न सरकारी निकायका ३० जना सहभागी रहेका छन् ।

Author

Related News