काठमाडौँ । सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०८२ असोज १८ गते शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र त्यसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म तीव्र वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको छ ।
दसैँ बिदापछि २०८२ असोज १९ गते आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गर्नु भएको सूचनामा भनिएको छ-‘२०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ ।’
