मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

गुल्मेली समाजद्वारा पोखरामा शुभकामना आदानप्रदान

पोखरा । “गुल्मेली समाज पोखरा-कास्कीको चाहना, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको कामना” भन्ने नाराका साथ स्थापित सामाजिक संस्था गुल्मेली समाज पोखराको आयोजनामा विजया दशमी, तिहार, छठ, नेपालसम्वतलगायतका पर्वहरूको अवसरमा २०८२ असोज ११ गते शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले गुल्मीबाट पोखरा आएर विभिन्न पेशाव्यवसायमा संलग्न भएका र स्थायी बसोबास गर्दै आएका अग्रज व्यक्तिहरूको सक्रियतामा गठित समाजले विगत २५-२६ वर्षदेखि मानव सेवामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु भयो ।

उहाँले पछिल्लो विषम परिस्थितिबाट देश सहज अवस्थातर्फ अगाडि बढिरहेको उल्लेख गर्दै प्रतिकूल अवस्थामा पनि सुरक्षित रहँदै पर्वहरू मनाउन सबैलाई आग्रह गर्नु भयो । साथै, दशैँतिहारलगायतका चाडपर्वहरूले राष्ट्रिय एकता, शान्ति र सद्भावलाई सबल बनाउने बताउनु भयो ।

यो अवसरमा समाजका पूर्वअध्यक्ष शङ्कर ज्ञवालीले मुक्तक प्रस्तुत गर्दै पर्वहरूको महत्त्वबारे विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा पूर्वअध्यक्षहरू तिर्थराज अर्याल, बाबुराम बराल, भानुभक्त भण्डारी ‘क्षितिज’ (विविसि), नारायण न्यौपाने, आजीवन संरक्षक मधु पन्थी, समाजका आजीवन सदस्य चिन्तामणि खरेल, रेसुङा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशम ज्ञवालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गुल्मेली समाज पोखराका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रूक्माङ्गत पोखरेलले स्वागत मन्तव्य र सचिव प्रकाश पुनले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार, आजीवन संरक्षक, आजीवन सदस्य, पदाधिकारी एवम् सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Related News