पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एम, नेपाल क्लस्टर २, रिजन ६, जोन १२ अन्तर्गत लायन्स क्लब अफ पोखरा स्काई टाउनको आयोजनामा पहिलो एडभाइजरी बैठक सम्पन्न भएको छ ।
बैठक जोन १२ का जोन चियरपर्सन ईन्जिनियर लायन नेत्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा २०८२ असोज ९ गते सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक जीएमटी कोअर्डिनेटर लायन राजेश्वर आचार्यले लायन्स क्लबलाई सामाजिक सेवामा समर्पित संस्था भन्दै राज्य र विभिन्न किसिमका विपन्न तथा पछाडि परेकाहरुलाई सहयोग गर्न संस्था सधैं अग्रसर रहेको उल्लेख गर्नु भयो ।
उहाँले पारदर्शिता, जबाफदेहिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
बैठकमा क्लब अफिसर पिभीएटीका काम, कर्तव्य र उत्तरदायित्व, डिस्ट्रिक तथा अन्तर्राष्ट्रिय कार्यक्रम, “मेरो क्लब बलियो क्लब” अभियान, सदस्यता वृद्धि तथा नयाँ क्लब स्थापना मिसन १.५, एनएलएफ कोष वृद्धि, गभर्नर फोकस कार्यक्रम अन्तर्गत प्रतिक्षालय निर्माण, ज्येष्ठ नागरिक सम्मान, क्लब परियोजना तथा रिपोर्टिङ, क्लबका समस्या र समाधान, क्लब, जोन तथा डिस्ट्रिकबीचको सम्बन्ध र हालैको जेन जेड आन्दोलनले समाजमा पारेको असरबारे विस्तृत सहजीकरण गरिएको थियो ।

लायन्स क्लब अफ पोखरा स्काई टाउनका अध्यक्ष लायन लक्ष्मण पोखरेल, हेल्पफुल हेण्डका अध्यक्ष लायन यज्ञबहादुर नेपाली र आँखिझ्यालका अध्यक्ष लायन माधवप्रसाद आचार्यले आफ्ना क्लबका कार्यक्रम तथा अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा क्लस्टर-२ का कलस्टरचिफ लायन लक्ष्मी कोईराला, रिजन–६ का रिजनचिफ लायन नरकुमार सुनार (शिव) र जोन-९ का चियरपर्सन लायन प्रेमबहादुर क्षेत्रीले लायन्स क्लबका काम, कर्तव्य तथा उत्तरदायित्वबारे धारणा राख्दै आगामी दशैं, तिहार, छठ र नेपाल सम्बत लगायतका पर्वका शुभकामना आदानप्रदान गर्नु भयो ।
राष्ट्रिय झण्डा अभिवादन कार्यक्रम जोन-११ का जोन चियरपर्सन लायन विष्णु पराजुलीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन स्काई टाउनका अध्यक्ष लायन लक्ष्मण पोखरेलले गर्नु भयो ।
कार्यक्रममा तीन ओटै क्लबका (पिभीएसटी) अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सक्रिय सहभागिता रहेको थियो ।