पोखरा । एमालेका केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेताहरूको टोलीले स्याङ्जा र तनहुँ जिल्लामा पुगी २०८२ भदौ २४ गते भएको तोडफोड तथा आगजनी घटनाको स्थलगत अवलोकन गर्नु भएको छ ।
नेकपा (एमाले) नेता तथा गण्डकी प्रदेश सरकारका पुर्वमुख्यमन्त्री खगराज अधिकारी, स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष मिनप्रसाद गुरुङ र सचिव धनञ्जय दवाडी लगायतको टोलीले २०८२ असोज ५ गते गण्डकी प्रदेश भित्रका जिल्लाहरूमा जेनजीको प्रदर्शन र आन्दोलनका क्रममा पार्टीका भौतिक संरचनाहरू र नेता तथा कार्यकर्ताहरूको घरमा भएको आगजनी, तोडफोड र ज्यादतीका घटनाहरूको स्थलगत अवलोकन एवम् क्षतिको विवरण सङ्कलन गरेको हो ।
टोलीले कार्यकर्ताहरूलाई आन्दोलनको क्षतिबाट निराश र हतोत्साहित नहुन सान्त्वना प्रदान गरेको एमाले नेताहरूले बताएका छन् ।
नेकपा (एमाले) जिल्ला कार्यालय स्याङ्जा पुगेर पार्टी अध्यक्ष पारस गैरे, प्रदेश सांसद शुधिरकुमार पौडेल लगायतका नेता तथा कार्यकर्ताबाट तोडफोड र आगजनीको विवरण लिए लगतै नेता अधिकारी, प्रदेश अध्यक्ष गुरुङ, सचिव दवाडी र स्वास्थ्य मन्त्री पाठकको टेलीले तनहुँको दमौलीमा रहेको नेकपा (एमाले) जिल्ला कार्यालयमा पुगी त्यहाँ भएको तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण एमाले जिल्ला अध्यक्ष हरिलाल कँडेलबाट लिएको छ ।
अवलोकनका क्रममा नेता अधिकारीको टोलीले स्याङ्जा र तनहुँ जिल्लाका नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयहरूमा भएको तोडफोड र आगजनी समेतको निरीक्षण गर्नुका साथै तनहुँका एमाले प्रदेश सांसद श्यामराजा महत र शुक्लागण्डकी नगरपालिका वडा नं ५ का वडाअध्यक्ष दिर्घ थापाको घरमा भएको तोडफोड घटनाको अवलोकन र जामनकारी पनि लिएको जनाएको छ ।