पोखरा । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा २०८२ असोज ५ गते पोखरा महानगरपालिका-७ शहिदचोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
“हाम्रा अपराधलाई क्षमा दिनुहोस्, हामीलाई तपाईँको शान्ति दिनुहोस्” भन्ने नारासहितको दीप प्रज्वलन कार्यक्रम क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा गरिएको हो ।
कार्यक्रममा बोल्दै महिला मानवअधिकारका लागि एकल महिला समूह कास्कीकी अध्यक्ष जुना केसीले २०६३ सालको विस्तृत शान्ति सम्झौताले सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य गरे पनि यसको सार्थकता अझै प्राप्त नभएको बताउनु भएको छ । उहाँले गणतन्त्र स्थापनापछि पनि व्यवस्थापन पक्ष कमजोर रहेको टिप्पणी गर्नु भयो ।
नेपालमा सन् २००८ (वि.सं. २०६५) देखि शान्तिको कामनासहित यो दिवस मनाउन थालिएको उल्लेख गर्दै उहाँले १९४८ को विश्वव्यापी घोषणापत्रकै प्रस्तावनामा अधिकारको मान्यतामार्फत न्याय र शान्ति स्थापना हुने कुरा प्रस्ट भएको धारणा राख्नु भएको छ ।
कार्यक्रममा महिला मानवअधिकारका लागि एकल महिला समूह कास्की, इन्सेक गण्डकी प्रदेश कार्यालय, मानव अधिकार एलायन्स कास्की, कोपिला नेपाल, एड्भोकेसी फोरम नेपाल तथा द्वन्द्व प्रभावित परिवारका सदस्य र प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।