पोखरा । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा मानवअधिकार संरक्षण मञ्च (मासम) कास्कीले २०८२ असोज ३ गते पोखरामा “देशको विषम परिस्थिति र समसामयिक विषय” विषयक छलफल कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा मासमका केन्द्रीय महासचिव डा. श्रीकान्त शर्मा खतिवडाले संविधान अझै जीवित रहेको उल्लेख गर्दै विषम परिस्थितिमा नागरिक सरकार गठन भएको अवस्थामा पनि तोकिएकै मितिमा निष्पक्ष निर्वाचन अनिवार्य रहेकोमा जोड दिनु भयो ।
उहाँले मानवअधिकारको संरक्षण, संविधान संशोधन र नीतिगत कानुन निर्माणका लागि पहल आवश्यक भएको उल्लेख गर्नुभयो ।
मानवअधिकारकर्मी मधु पन्थीले पछिल्लो समय संविधानको जगेर्ना सबैको साझा दायित्व भएको बताउनु भयो ।
उहाँले आम नागरिक, मानवअधिकारकर्मी र नागरिक समाजको आवाज कमजोर देखिएकाले आगामी दिनमा निष्पक्षता र तटस्थता कायम राख्नुपर्ने धारणा राख्नु भयो ।
मासम कास्कीका अध्यक्ष ध्रुबसिं थापा, उपाध्यक्ष मेहरमान श्रेष्ठ, सचिव दानबहादुर गुरुङ, सह–सचिव सीता पान्डे, कोषाध्यक्ष यमबहादुर सुर्खाली, सदस्यहरू दिनेशकुमार लामिछाने, रामचन्द्र पहारी, सल्लाहकार चक्रपाणी सुवेदी र गण्डकी प्रदेश सदस्य ऋषिराम लामिछाने लगायतका वक्ताहरूले लोकतान्त्रिक यात्राले विगत सात दशकमा असङ्ख्य सङ्घर्ष, क्रान्ति र आन्दोलनहरूको सामना गरेको स्मरण गराउनु भयो ।
वक्ताहरूले नेपालको संविधान २०७२ जारी भएको एक दशकमै फेरि परिवर्तन र परिमार्जनको आवश्यकता औंल्याउनु गम्भीर विषय भएको बताउनु भयो ।
संविधान केवल राज्य सञ्चालनको मूल कानुन मात्र नभई नागरिकका लागि न्याय, विधि र पद्धति भएकोले यसको जगेर्ना, संवर्धन र व्यवहारमा उतार्न सबै नागरिक सचेत, जिम्मेवार र जागरूक बन्नुपर्नेमा जोड दिइयो ।