पोखरा । पोखरा महानगरपालिका–५, मालेपाटनको आयोजनामा तथा प्रादेशिक रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा २०८२ असोज १ गते खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष विष्णुप्रसाद बराल, वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य र वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले संयुक्तरूपमा पहिलो रक्तदाता पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै गर्नु भएको थियो ।
उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष बरालले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नु भयो ।
साथै, आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै रक्तदानलाई पवित्र कार्यका रूपमा अघि बढाएको बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीकी उप–सभापति रमा कोइराला, जनप्रतिनिधि हरिमाया विश्वकर्मा, कल्पना भुवाजी क्षेत्री, गोविन्दप्रसाद पराजुली, मणीराम बराल, सचिव लक्ष्मण शर्मा, समाजसेवी सन्तोष थापा, लक्ष्मण बराल, प्रदीप सुवेदी, दीपक विश्वकर्मा लगायतका सहभागीले वडा कार्यालयलाई आवश्यक पर्दा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
“रक्तदान महादान” जस्तो पवित्र कार्यमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै वडा अध्यक्ष बरालले ४१ युनिट रगत सङ्कलन भएको जानकारी दिनु भयो ।
सो अवसरमा उहाँले असोज २ गतेदेखि वडाको सम्पूर्ण काम पूर्ववत् वडा कार्यालयबाट सुचारु हुने बताउनु भएको छ ।