मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सिन्धुलीमा सरकारी-निजी सम्पत्ति क्षति, दोषीमाथि कारबाही हुने

रुद्रबहादुर खड्का, सिन्धुली ।

जेनजी आन्दोलनको क्रममा २०८२ भदौ २३ गते र २४ गते सिन्धुलीमा भएका तोडफोड र लुटपाट घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सम्पत्ति तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

प्रशासनले २०८२ भदौ २९ गते जारी सूचनामा प्रशासनले सरकारी तथा निजी कार्यालय, घर र संस्थाबाट लुटिएका कम्प्युटर, क्यामेरा, फर्निचर, नगद-गरगहना लगायतका सम्पत्ति इमान्दारीपूर्वक बुझाउन आग्रह गरेको हो ।

प्रशासनले यस्ता सामान खरिद-बिक्री नगर्न चेतावनी दिँदै, सिसिटिभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुने जनाएको छ ।

कमलामाई नगरपालिका, जिल्ला अदालत, मालपोत, कर कार्यालयदेखि निर्वाचित जनप्रतिनिधि र राजनीतिक दलका कार्यालयसमेत ध्वस्त पारिएको छ ।

तोडफोडले करोडौँ मूल्यबराबरको सम्पत्ति क्षति हुनुका साथै सरकारी कार्यालयबाट जनतालाई सेवा प्रवाहमा समस्या परेको जनाइएको छ ।

दशैँको मुखमा कर्मचारीलाई तलब र ज्येष्ठ नागरिकलाई भत्ता वितरणसमेत प्रभावित भएको कमलामाई नगरपालिकाका लेखा अधिकृत टेकेन्द्र कार्कीले बताउनु भयो ।

स्थानीयले अराजक गतिविधिमा संलग्नलाई कानुनको कठघरामा ल्याउन माग गर्दै ध्वस्त संरचनाको पुनर्निर्माण गरी कार्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

Author

Related News