मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मरिण गाउँपालिका क्षमता स्वमूल्याङ्कनमा पहिलो

रुद्रबहादुर खड्का, सिन्धुली ।

मरिण गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन परीक्षामा पहिलो भएको छ ।

जिल्लाका नौ ओटा स्थानीय तहमध्ये मरिणले ९६.५ प्रतिशत अङ्क ल्याएर शीर्ष स्थान हासिल गरेको हो ।

कमलामाई नगरपालिका ९६ अङ्कसहित दोस्रो र दुधौली नगरपालिका ९२.२५ अङ्कसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै सुनकोशी गाउँपालिका (९०.७५), फिक्कल गाउँपालिका (८९), तीनपाटन गाउँपालिका (८८.७५), घ्याङ्लेख गाउँपालिका (८३.५), हरिहरपुरगढी गाउँपालिका (८१) र गोलन्जोर गाउँपालिका (६५) क्रमशः चौथादेखि नवौँ स्थानमा परेका छन् ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानका अनुसार मूल्याङ्कनमा शासन, प्रशासन, बजेट व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, पूर्वाधार, समावेशीकरण, वातावरण संरक्षण र सहकार्य गरी १० विषयगत क्षेत्रअन्तर्गत १०० सूचकलाई आधार बनाइएको हो ।

राम्रो अङ्क ल्याउने स्थानीय तहलाई सरकारले १ देखि ४ करोड रुपियाँसम्म अतिरिक्त अनुदान दिने व्यवस्था छ भने कमजोर स्थानीय तहले त्यति नै बजेट कटौती भोग्नुपर्ने प्रावधान रहेको छ ।

जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामाले क्षमता स्वमूल्याङ्कनले स्थानीय तहको कार्य सम्पादन, असल अभ्यास र सुधारका लागि आवश्यक क्षेत्र पहिचान गर्न मद्दत गर्ने बताउनु भयो ।

Author

Related News