मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पर्यटन क्षेत्रको विकासका लागि लगानी आकर्षित : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटन राजधानी घोषणा भएसँगै यसले पर्यटन क्षेत्रको समग्र विकासका लागि विभिन्न लगानीहरू आकर्षित गर्न थालेको बताउनुभएको छ ।

पोखराको पर्यटनलाई स्थायित्व र एकताबद्ध गर्ने उद्देश्यले सन् १९८२ मा स्थापित पर्यटन क्षेत्रको अग्रणी संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको ३०औँ वार्षिक साधारण सभा २०८२ भदौ १५ गते पोखरामा आयोजित कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा भ्रमण वर्ष घोषणा गरी विभिन्न कार्यक्रम अघि बढाइएका जानकारी दिनु भयो ।

नाट्टा केन्द्रका अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका सदस्य कुमारमणि थपलियाले पर्यटन क्षेत्रको उन्नयनमा नाट्टाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

त्यस्तै, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा प्रमुख पर्यटकीय गन्तव्य भएकाले शान्ति–सुरक्षामा कुनै कसर बाँकी नराखी स्थानीय प्रशासन निरन्तर सक्रिय रहेको उल्लेख गर्नु भयो ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले संस्थाले देशको पर्यटन प्रवर्द्धन र विकासका लागि निरन्तर काम गर्दै आएको जानकारी दिनु भयो ।

कार्यक्रममा महासचिव चेतबहादुर कार्की (चेतन) ले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवास पहारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदनहरू बृहद् छलफलपश्चात सर्वसम्मत रुपमा पारित भएको महासचिव कार्कीले बताउनु भयो ।

यसै अवसरमा, मनोहरा सिग्देल स्मृति पर्यटन पत्रकारिता पुरस्कार होलिडे एड्भेन्चर टुर्स एन्ड ट्राभल्सका म्यानेजर चिरञ्जीवी काफ्लेलाई प्रदान गरियो ।

पुरस्कारका लागि स्व. मनोहरा सिग्देलको स्मृतिमा स्थापित १ लाख ११ हजार रुपैयाँको अक्षयकोषबाट नाट्टा गण्डकीका सदस्य कम्पनीभित्रका सबैभन्दा पुराना कर्मचारीलाई हरेक वर्ष नगद १० हजार रुपैयाँसहित सम्मान गरिँदै आएको पनि जानकारी दिइयो ।

नाट्टाका निर्वतमान अध्यक्ष हरिराम अधिकारीले वर्तमान अवस्थामा नेपाल सरकारले लागु गर्न लागेको इम्बोस्ड नम्बर अव्यवहारिक हुने बताउनु भयो । उहाँका अनुसार पर्यटकको सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बरले पर्यटन व्यवसायी र पर्यटकलाई अल्मल्याउने हुँदा सो निर्णय सच्याउन नेपाल सरकारसमक्ष आग्रह गर्नु भयो ।

सो निर्णय सच्याएमा भोलिका दिनमा पर्यटन व्यवसाय सञ्चालन गर्न र पर्यटक चढ्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन गर्न सहज हुने बताउनु भयो ।

कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापा, नाट्टा सुदूरपश्चिम प्रदेशका महासचिव शिवहरि पाण्डेसहितका वक्ताहरूले पर्यटनका क्षेत्रमा आफ्नो धारणा राख्नु भएको थियो ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सङ्गीता पौडेलले दिनु भएको थियो भने सञ्चालन महासचिव चेतबहादुर कार्की (चेतन)ले गर्नु भएको थियो ।

Author

Related News